२९ श्रावण २०८३, शुक्रबार

बागमती विश्वविद्यालयको हेटौंडा क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण



काठमाडौं । बागमती विश्वविद्यालयअन्तर्गत हेटौंडा क्याम्पसमा प्रथम सत्रमा भर्ना भएका नयाँ विद्यार्थीका लागि स्वागत तथा विषय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

बागमती प्रदेशको राजधानी हेटौंडामा साउन २८ गते आयोजित कार्यक्रममा विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुम राज सुवेदी प्रमुख अतिथि तथा हेटौंडा क्याम्पसका प्रमुख डा. देव चन्द्र मानन्धरको अध्यक्षता रहेको थियो। कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आनन्द राम पराजुलीसहित सञ्चालक समितिका सदस्य, समाजसेवी, प्राध्यापक, पत्रकार तथा विद्यार्थीको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालयका उपाध्यक्ष डा. सुवेदीले उच्च र गुणस्तरीय शिक्षा हासिल गर्न विद्यार्थी विदेश वा अन्यत्र जानुपर्ने अवस्था अन्त्य गर्न विश्वविद्यालयले भूमिका खेल्ने बताए।

विशिष्ट अतिथि पराजुलीले हेटौंडा उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास हुँदै गएको बताउँदै नयाँ विद्यार्थीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिए।

क्याम्पस प्रमुख डा. मानन्धरले नयाँ विद्यार्थीलाई स्वागत गर्दै गुणस्तरीय शिक्षा आजको प्रमुख आवश्यकता भएको बताए। हेटौंडा क्याम्पस अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।

क्याम्पसले स्थानीय स्तरमै सस्तो तथा सुलभ शुल्कमा आधुनिक पाठ्यक्रममा आधारित शिक्षा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ। विद्यार्थीको समय बचत गर्न छिटो नतिजा प्रकाशनमा समेत जोड दिइने क्याम्पसले जनाएको छ।

हाल हेटौंडा क्याम्पसमा बीआईटी, बीएचएम, बीएड, बीबीए र बीएएलएलबी लगायतका शैक्षिक कार्यक्रम सेमेस्टर प्रणालीमा सञ्चालन भइरहेका छन्। यसबाट हेटौंडा तथा आसपासका विद्यार्थीले आफ्नै क्षेत्रमै प्राविधिक, व्यावसायिक तथा गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने अवसर पाएका छन्।