दशकौंदेखि बन्द बुटवल धागो कारखाना ब्युँताउने तयारी, कच्चा पदार्थ पनि देशमै फलाउने योजना
बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालनको तयारी तीब्र पारिएको छ भने यसैसागै जोडेर सरकारले स्वदेशमै कपासको व्यावसायिक खेती विस्तार गर्ने महत्वपुर्ण योजना अघि बढाएको छ ।
काठमाडाैँ । लामो समयदेखि ताला बन्द अवस्थामा रहेको बुटवल धागो कारखाना फेरि सञ्चालनमा ल्याउने तयारीले गति लिएको छ । बन्द अवस्थामा रहेका ठूला उद्योगहरूलाई पुनर्जीवन दिने सरकारी नीतिकै क्रममा यो ऐतिहासिक कारखानालाई पनि ब्युँताउने कसरत थालिएको हो ।
उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कारखानालाई पुनः सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) को काम अहिले अन्तिम चरणमा पुगेको छ । यो प्रक्रिया टुंगिनेबित्तिकै कारखानालाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयले ठोस रूप लिने अधिकारीहरू बताउँछन् ।
सरकारले हालै हेटौँडा कपडा उद्योगलाई पनि सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ । यसैबिच कपडा तथा धागो उद्योगहरूलाई सञ्चालन गर्नु मात्र नभई त्यसका लागि अत्यावश्यक पर्ने मुख्य कच्चा पदार्थ कपाससमेत स्वदेशमै उत्पादन गर्ने गरी नयाँ रणनीति अघि सारिएको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले नेपालमा कपडा उद्योगको भविष्य बलियो बनाउन अब बाहिरी देशको भर पर्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताएकी छन् । उनले कच्चा पदार्थमा रहेको विदेशी निर्भरता घटाएर स्वदेशी उत्पादनको आधार बलियो बनाउन निजी क्षेत्र र उद्यमीहरूलाई कपास खेतीमा लगानी गर्न औपचारिक रूपमै आह्वान गरेकी छन् ।
स्वदेशी औद्योगिक शृंखलाको नयाँ आधार
स्वदेशी उत्पादनको यो चक्रलाई सफल बनाउन सरकारका दुई वटा मन्त्रालयले समेत सहकार्य थालेका छन् । उद्योगमन्त्री यादव र कृषि मन्त्री गीता चौधरीबिच यसै विषयमा महत्त्वपूर्ण भेटवार्ता भएको छ ।
सो छलफलका क्रममा कृषिमन्त्री चौधरीले दाङ, बाँके र बर्दियाजस्ता जिल्लाहरूमा कपास खेतीका लागि माटो र हावापानी हिसाबले अत्यन्त अनुकूल वातावरण रहेको जानकारी दिएकी छन् ।
नेपालमा दशकौंसम्म पनि कपास खेतीको राम्रो सम्भावना हुँदै आए पनि व्यावसायिक उत्पादन पर्याप्त हुन सकेको छैन । जसका कारण उद्योगहरू सञ्चालन गर्नकै लागि मात्रै पनि करोडौँ रकम बाहिर पठाएर कपास आयात गर्नुपर्ने तितो यथार्थ छ ।
सरकारले यदि कपास उत्पादन र उद्योग सञ्चालनका यी दुई पाटोलाई एकसाथ जोडेर लैजान सकेमा यसले नेपालको अर्थतन्त्रमा ठूलो फड्को मार्ने विश्वास गरिएको छ । बुटवल धागो कारखाना र हेटौँडा कपडा उद्योग एकसाथ खुल्दा एकातिर विदेशिने ठुलो धनराशी जोगिनेछ भने अर्कोतिर किसानले आफ्नै खेतबारीमा फलाएको कपासबाट रोजगारी र आयआर्जनका
नयाँ बाटाहरू खुल्नेछन् । कच्चा पदार्थको उत्पादनदेखि प्रशोधन, धागो र अन्तिममा कपडा उत्पादनसम्मको सम्पूर्ण औद्योगिक चक्र नेपालमै तयार पार्ने यो महत्त्वाकांक्षी योजनाले अब कस्तो गति लेला, त्यसैमा देशको औद्योगिक भविष्य निर्भर देखिन्छ ।













