नाफा घटेपनि एनएलजी इन्स्योरेन्सको व्यवसाय विस्तार तीव्र, बीमाशुल्क आर्जन १८ प्रतिशतले बढ्यो
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको बीमा व्यवसाय विस्तार भए पनि खर्च तथा दाबी भुक्तानी बढ्दा खुद नाफामा उल्लेख्य दबाब परेको छ।
कम्पनीले समीक्षा अवधिमा ५ करोड ७८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.३१ प्रतिशत कम हो।
आव २०८१/८२ को चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा १५ करोड ३३ लाख ८८ हजार रुपैयाँ रहेको थियो। नाफामा कमी आए पनि कम्पनीको मुख्य व्यावसायिक सूचक खुद बीमाशुल्क आर्जन भने बढेको छ।
समीक्षा अवधिमा खुद बीमाशुल्क आम्दानी १७.९९ प्रतिशतले वृद्धि भएर १ अर्ब १५ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले ९८ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
त्यस्तै, कम्पनीको कुल आम्दानी ११.६० प्रतिशतले बढेर १ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ पुगेको छ। यसले बीमा व्यवसायको आकार विस्तार भइरहेको देखाए पनि आम्दानीको तुलनामा खर्च र दाबीको वृद्धि उच्च रहँदा त्यसको प्रत्यक्ष लाभ नाफामा देखिन नसकेको हो।
एनएलजी इन्स्योरेन्सको कुल खर्च समीक्षा अवधिमा २७.४१ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ पुगेको छ। खर्च बढेसँगै कम्पनीको नाफामा दबाब परेको देखिन्छ।
यस अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ३७.५५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब ४२ करोड रुपैयाँ रहेको कुल दाबी भुक्तानी बढेर समीक्षा अवधिमा ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।
बीमा व्यवसाय विस्तारसँगै दाबी दायित्वमा भएको वृद्धिले कम्पनीको समग्र वित्तीय परिणाममा प्रभाव पारेको देखिन्छ।
चुक्ता पूँजी ४ प्रतिशतले वृद्धि भई २ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको बीमा कोष पनि १४.७६ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ पुगेको छ।
यता, कम्पनीको रिटेन्ड अर्निङ (सञ्चित मुनाफा) भने उल्लेख्य घटेको छ। अघिल्लो वर्षको तुलनामा ८७.२० प्रतिशतले घटेर रिटेन्ड अर्निङ १ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ।
खुद नाफामा आएको गिरावटको असर कम्पनीको प्रतिशेयर आम्दानीमा समेत परेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ५.९८ रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा ३.८१ रुपैयाँले घटेर २.१७ रुपैयाँ कायम भएको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ भने १६६.३६ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।













