कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा
काठमाडौं । कुमारी बैंक लिमिटेडले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा सञ्चालनमा ल्याएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता बढाउने लक्ष्य राखेको छ।
नयाँ सुविधाअन्तर्गत कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्। ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमा रहेको आईआरडी प्रोत्साहन कार्यक्रमको मेनुमार्फत आफूले गरेका योग्य कारोबारको संख्या, विवरण र पुरस्कारको अवस्था हेर्न सक्ने बैंकले जनाएको छ।
आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकलाई कर कट्टीपश्चात १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ बराबरको बम्पर पुरस्कार प्राप्त गर्ने व्यवस्था छ।
बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान वा भ्याट बिल लिन तथा बिल सुरक्षित राख्न आग्रह गरेको छ। साथै, मोबाइल बैंकिङ एपमार्फत नियमित रूपमा आफ्नो कारोबारको योग्यता जाँच गर्न पनि बैंकले अनुरोध गरेको छ।
कुमारी बैंकका अनुसार यस अभियानले डिजिटल कारोबार विस्तारसँगै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि र वित्तीय पारदर्शिता प्रवर्द्धनमा सहयोग पुर्याउनेछ।
२५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ। बैंकले शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ।













