१ भदौ २०८३, सोमबार

जीवन बीमा कम्पनीले कमाए साढे ५ अर्ब नाफा, कुन कम्पनीको नाफा कति ?



काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूको खुद नाफा गत आर्थिक वर्ष २०८२/८३ मा घटेको छ। १४ जीवन बीमा कम्पनीले आर्थिक वर्षको अन्त्यसम्म ५ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०.५३ प्रतिशत कम हो। आ.व. २०८१/८२ मा यी कम्पनीहरूको खुद नाफा ६ अर्ब ८ करोड ६० लाख रुपैयाँ रहेको थियो।

नाफामा आईएमई लाइफको वर्चस्व कायमै

नाफा कमाउने कम्पनीमध्ये आइएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीले गत आवमा ५८ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको ५८ करोड ३३ लाख रुपैयाँको तुलनामा आइएमई लाइफको नाफा ०.१६ प्रतिशतले बढेको हो।

यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ५८ करोड २६ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा छ। कम्पनीको नाफा अघिल्लो आवको तुलनामा २.१८ प्रतिशतले बढेको हो।

नेपाल लाइफ इन्स्योरेन्सले ४६ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा ५४ करोड ७६ लाख रुपैयाँ रहेको नाफा यसपटक १५.०२ प्रतिशतले घटेको हो।

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा अघिल्लो आव २०८१/८२ को तुलनामा २२.८४ प्रतिशतले घटेर ४१ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। यता एशियन लाइफ इन्स्योरेन्सको नाफा १.१९ प्रतिशतले बढेर ४१ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)ले ४० करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीको नाफा अघिल्लो आवको तुलनामा २८ प्रतिशतले बढेको हो।

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा भने उल्लेख्य वृद्धि देखिएको छ। कम्पनीको खुद नाफा १०६.६३ प्रतिशतले बढेर ३९ करोड ८ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, सानिमा रिलायन्स लाइफले ३८ करोड ३८ लाख, सूर्यज्योति लाइफले ३८ करोड २ लाख र मेट लाइफले ३७ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यीमध्ये सानिमा रिलायन्स र सूर्यज्योतिको नाफा क्रमशः १.६९ प्रतिशत र ८.५५ प्रतिशतले बढेको छ भने मेट लाइफको नाफा ५५ प्रतिशतले घटेको छ।

प्रभु महालक्ष्मी लाइफले ३७ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीको नाफा १.३१ प्रतिशतले बढेको हो। नेशनल लाइफको खुद नाफा भने १० प्रतिशतले घटेर ३७ करोड ६ लाख रुपैयाँमा झरेको छ।

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ४१ प्रतिशतले घटेर ३१ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ।

यसैबीच, राष्ट्रिय जीवन बीमा कम्पनी नाफाको हिसाबले कमजोर देखिएको छ। कम्पनीले गत आवमा २ करोड ३८ लाख रुपैयाँ घाटा व्यहोरेको छ।

समग्रमा, १४ जीवन बीमा कम्पनीमध्ये केही कम्पनीले नाफा बढाउन सफल भए पनि ठूला कम्पनीसहित केहीको नाफा घट्दा समग्र जीवन बीमा क्षेत्रको खुद नाफा अघिल्लो वर्षको तुलनामा खुम्चिएको देखिन्छ।

कुन कम्पनीको नाफा कति ?