२ भदौ २०८३, मंगलबार

नाम्मीको नयाँ अवतार ‘भिगो ई २’ भोलि सार्वजनिक हुँदै: दुई हजारभन्दा बढी नेपालीको रोजाइ अब थप किफायती



काठमाडौँ। नेपाली सडकमा विद्युतीय गाडीहरूको उपस्थिति र आकर्षण द्रुत गतिमा बढिरहेका बेला अर्को बहुचर्चित एसयूभी ‘नाम्मी भिगो ई टु’ नेपाल भित्रिएको छ। भोलि बुधबारदेखि यो गाडी पनि नेपाली सडकमा कुद्नेछ।

नेपालका लागि डोङफेङ नाम्मीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आफ्नो बहुचर्चित एसयूभीको नयाँ भेरियन्ट ‘नाम्मी भिगो ई टु’ सार्वजनिक गर्न लागेको हो।

हाल नेपाली बजारमा उपलब्ध नाम्मी भिगो ई टु प्लस ले पाएको उल्लेख्य सफलतापछि कम्पनीले यसै मोडललाई अझ धेरै ग्राहकको पहुँचमा पुऱ्याउन र किफायती बनाउन नयाँ ‘ई टु’ भेरियन्ट भित्र्याएको हो।

‘नाम्मी भिगो ई टु’ मा दैनिक प्रयोगका लागि एकदमै उपयुक्त मानिने ब्याट्री प्याक तथा शक्तिशाली मोटर जडान गरिएको छ। यसमा ९९ किलोवाट क्षमताको फ्रन्ट-ह्विल ड्राइभ मोटर राखिएको छ, जसले २९० एनएम टर्क र १८१ हर्सपावर शक्ति प्रदान गर्छ।

गाडीमा ४४.९४ किलोवाट घण्टाको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक दिइएको छ, जबकि माथिल्लो भेरियन्ट ई टु प्लसमा ५१.८७ किलोवाट घण्टाको ब्याट्री रहेको छ।

एक पटकको पूर्ण चार्जमा यो भेरियन्टले डब्लुएलटीपी मानक अनुसार ३०० किलोमिटर र सिएलटीसी मानक अनुसार ४०१ किलोमिटरसम्मको माइलेज दिन्छ।

पिकअपका हिसाबले यस गाडीले ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति मात्र ३.६ सेकेन्डमा र ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति करिब ७.८ सेकेन्डमा समात्न सक्छ भने यसको अधिकतम गति १५० किलोमिटर प्रतिघण्टा रहेको छ। साथै डिसी द्रुत चार्जरको प्रयोग गरी यसलाई ३० देखि ८० प्रतिशतसम्म मात्र १८ देखि ३० मिनेटभित्र चार्ज गर्न सकिन्छ।

यस गाडीलाई कम्पनीले पूर्ण एसयूभीको रूपमा प्रस्तुत गरेको छ, जसले आफ्नो क्षेत्रमा ठूलो र आकर्षक उपस्थिति देखाउँछ। यो गाडी ४,३०६ मिमि लम्बाइ, १,८६८ मिमि चौडाइ र १,६४५ मिमि उचाइको आकारमा उपलब्ध छ भने यसको ह्विलबेस २,७१५ मिमि रहेको छ।

यसमा रहेको १९० मिमिको उच्च ग्राउन्ड क्लियरेन्सका कारण नेपालका खाल्टाखुल्टी तथा अप्ठ्यारा कच्ची सडकमा पनि गाडी सजिलै हाँक्न सकिन्छ। सामान राख्नका लागि यसमा ५०० लिटरको ठूलो बुट स्पेस दिइएको छ, जसलाई पछाडिको सिट मोडेर १०४० लिटरसम्म बढाउन सकिने सुविधा रहेको छ।

प्रिमियम सवारी अनुभव र सुरक्षाका लागि यस गाडीमा अत्याधुनिक सुविधाहरू समाविष्ट गरिएका छन्। सुरक्षा प्रविधितर्फ ३६०-डिग्री क्यामेरा, अटो पार्किङ सहायता र आधुनिक लेभल-२ एडीएएस चालक सहायता प्रणाली जडान गरिएको छ।

त्यसैगरी आन्तरिक सुविधामार्फत १२.८-इन्चको ठूलो इन्फोटेनमेन्ट स्क्रिन, भेन्टिलेटेड र हिटेड छालाका सिटहरू उपलब्ध गराइएको छ। यसका साथै गाडीको ब्याट्रीबाटै बाहिरी विद्युतीय उपकरणहरू चलाउन सकिने भीटुएल प्रविधि पनि यसमा समावेश छ।

चिनियाँ बजारमा नाम्मी भिगो (जसलाई चीनमा ‘नाम्मी ०६’ को नामले चिनिन्छ) को सुरुआती मूल्य ८९,९०० युआनबाट सुरु हुन्छ।

नेपालमा हाल उपलब्ध माथिल्लो भेरियन्ट नाम्मी भिगो ई टु प्लसको मूल्य रु ४३ लाख ९९ हजार तोकिएको छ। नयाँ आउन लागेको ई टु भेरियन्टमा केही सुविधाहरू र ब्याट्री क्षमता ई टु प्लसको तुलनामा केही कम रहनेछ, जसका कारण यसको सुरुआती मूल्य रु ३९ लाख देखि ४० लाखको हाराहारीमा रहने अनुमान गरिएको छ।

एमएडब्लू वृद्धिका अनुसार हाल नेपाली सडकमा २,००० भन्दा बढी नाम्मी गाडीहरू सफलताका साथ गुडिरहेका छन्। मनाङ, मुस्ताङ र शुक्लाफाँटा जस्ता नेपालका विकट, उच्च हिमाली तथा चुनौतीपूर्ण पर्यटकीय गन्तव्यहरूमा समेत यसले आफ्नो क्षमता प्रदर्शन गर्दै सफल यात्रा पूरा गरिसकेको छ।

कम बजेटमा फराकिलो क्याबिन, आकर्षक एसयूभी बनावट, उच्च ग्राउन्ड क्लियरेन्स र भरपर्दो रेन्ज खोजिरहेका नेपाली ग्राहकहरूका लागि ‘नाम्मी भिगो ई टु’ (नाम्मी ०६) एउटा दरिलो र उत्कृष्ट विकल्प बन्ने निश्चित छ।