२ भदौ २०८३, मंगलबार

राष्ट्रपतिकालकै पिँधमा ट्रम्पको लोकप्रियता, इरानसँगको दलदलले बढायो रिपब्लिकनहरूको चिन्ता



ट्रम्पको राजनीतिक जीवनकै सबैभन्दा खराब दिन, अनुमोदन दर अर्थात् लोकप्रियता घटेर ३३ प्रतिशतमा झर्यो । इरान युद्धले ह्वाइट हाउसलाई गम्भीर धक्का दिँदै ।

काठमाडाैँ । राष्ट्रपति डोनल्ड ट्रम्पको राजनीतिक जीवनमा उनी स्वयंले खासै नचाएकाे परिस्थिति सामना गर्नु परिरहेकाे एउटा अध्ययनले देखाएकाे छ। उनको कार्यशैलीलाई समर्थन गर्नेहरूको संख्या घटेर हालसम्मकै सबैभन्दा खस्केको स्तरमा पुगेको छ।

सोमबार सार्वजनिक भएको रोयटर्स र इप्सोसको पछिल्लो सर्वेक्षणले ह्वाइट हाउसका मालिक ट्रम्पका लागि निकै निराशाजनक चित्र प्रस्तुत गरेको छ। चार दिनसम्म चलेको यो राष्ट्रव्यापी सर्वेक्षणमा सहभागी भएकामध्ये जम्मा ३३ प्रतिशतले मात्र ट्रम्पको काम गराइप्रति समर्थन जनाएका छन् भने ६४ प्रतिशतले ठाडै असन्तुष्टि पोखेका छन्।

यसै महिनाको सुरुमा गरिएको सर्वेक्षणमा उनको समर्थन ३५ प्रतिशत थियो। हाल देखिएको यो ३३ प्रतिशतको समर्थन उनको वर्तमान कार्यकालमा मात्र नभई सन् २०१७ को डिसेम्बरमा पुगेको उनको पहिलो कार्यकालकै सबैभन्दा न्यूनतम विन्दुसँग ठ्याक्करै बराबरी हुन पुगेको छ। अनलाइन माध्यमबाट गरिएको उक्त ताजा सर्वेक्षणमा १,१६६ जना अमेरिकी वयस्कहरूको सहभागिता रहेको थियो ।

सन् २०२५ मा आधाभन्दा केही कम देशको समर्थन बटुलेर ह्वाइट हाउसमा पुनरागमन गरेका ट्रम्पको लोकप्रियतामाथि यस वर्ष तब बज्रपात भयो, जब उनले अमेरिकी र इजरायली सेनालाई इरानमाथि आक्रमण गर्ने आदेश दिए। इरानमाथिको यो सैन्य कारबाहीले विश्वव्यापी तेल व्यापारको ठूलो हिस्सालाई ठप्प बनाइदियो।

यसले गर्दा पेट्रोलको मूल्य अकाशिएकाे छ, जसको सीधै असर आम अमेरिकी परिवारको चुल्हो र खल्तीमा परेको छ। अबकाे तीन महिना पछि नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा कङ्ग्रेशमा आफ्नो झिनो बहुमत जोगाउन सङ्घर्षरत ट्रम्पका दलका नेताहरूका लागि अहिले यो महँगी अभिशाप बनेको छ।

महँगी र युद्धबाट टाढा रहने बाचा गरेर भोट मागेका ट्रम्पले सुरुमा इरानसँगको यो लडाइँ केही हप्तामै टुङ्गिने शेखी ठानेका थिए। तर, सोचेभन्दा धेरै कडा प्रतिरोधी क्षमता देखाएको इरानले हर्मोज स्ट्रेटकाे बाटाेबाट हुने तेलको व्यापारलाई अहिलेसम्म पनि बन्द गरिदिएकाे छ।

रोयटर्स/इप्सोसको सर्वेक्षणमा सहभागी करिब ८० प्रतिशत अमेरिकीहरूले (जसमा ८७ प्रतिशत डेमोक्र्याट र ७१ प्रतिशत रिपब्लिकनहरू समेत सामेल छन्) अमेरिका अब इरानको यो दलदलमा लामो समयसम्म फस्ने पक्कापक्की रहेको बताएका छन्। यो द्वन्द्व केही हप्तामै समाप्त हुन्छ भन्नेमाथि जम्मा १६ प्रतिशतको मात्रै भरोसा बाँकी छ।

नोभेम्बरको चुनावमा उल्टिँदै समीकरण

गत शुक्रबार न्युयोर्कको गार्डेन सिटीमा भएको एक चुनावी सभामा ट्रम्पले ‘एक अति दुष्ट देश’ लाई आणविक हतियारबाट रोक्नका लागि पेट्रोलको मूल्यमा ‘अलिकति बढी’ तिर्नु कुनै ठूलो कुरा नभएको भन्दै अनौठो बचाउ गरेका थिए। तर जनताले उनको यो तर्क पत्याएका छैनन्। यो युद्ध अर्थपूर्ण थियो भन्ने ठान्नेहरू पाँच जनामा एक जना मात्र छन्, र रिपब्लिकनहरूमा पनि आधाले मात्र यसको औचित्य देखेका छन्।

युद्ध र चुलिएको इन्धनको मूल्यले गर्दा रिपब्लिकनहरूको सातो खाएको छ। उनीहरूलाई आगामी नोभेम्बर ३ मा हुने संसदीय निर्वाचनमा आफ्नो झिनो बहुमत जोगाउनै मुस्किल पर्ने देखिसकेको छ । उता विपक्षी डेमोक्र्याटहरूले त सिनेटमा पनि बाजी मार्ने दाउमा ढुक्क देखिन थालेका छन्।

पछिल्लो एक दशकयता पहिलो पटक रोयटर्स/इप्सोसको सर्वेक्षणले अर्थतन्त्रको मामलामा मतदाताहरूले रिपब्लिकनभन्दा डेमोक्र्याटहरूलाई बढी पत्याएको देखाएको छ। ३८ प्रतिशत जनताले अर्थतन्त्र र जीवनयापनको खर्च चलाउन डेमोक्र्याटहरू नै अब्बल रहेको बताएका छन्, जबकि रिपब्लिकनको पक्षमा ३५ प्रतिशत मात्र उभिएका छन्।

ट्रम्पको कार्यकालभरि अध्यागमन नीतिमा भने रिपब्लिकनहरूको पल्ला भारी हुँदै आएको थियो। सीमापार हुने अवैध आवागमनमा कडाइ गरेपछि उनीहरू यसैमा गर्व गरिरहेका थिए। तर, सीमा क्षेत्रमा भएका घातक झडपहरू र बालबालिकासमेत ठूलो संख्यामा हिरासतमा कोचिएका हृदयविदारक दृश्यहरूले त्यो साख पनि धुमिल बनाइदिएको छ।

ताजा सर्वेक्षणमा अध्यागमन नीतिमा रिपब्लिकनलाई राम्रो मान्नेहरू ४० प्रतिशत छन् भने डेमोक्र्याटहरू ३८ प्रतिशतमा झरेका छन्। यो जम्मा २ प्रतिशतको ग्याप ट्रम्पको कार्यकालकै सबैभन्दा कम अन्तर हो, जुन गत वर्षको जनवरीमा २६ प्रतिशतको फराकिलो अग्रतामा थियो।