वैदेशिक लगानी प्रतिबद्धतामा भारी गिरावट, साउनमा एफडीआइ प्रतिबद्धता ३ अर्बमा झर्यो
काठमाडौं। चालु आर्थिक वर्षको सुरुवातमै नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिबद्धतामा ठूलो गिरावट देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता मात्र प्राप्त भएको छ।
उद्योग विभागका अनुसार साउन महिनामा १ सय ९१ वटा उद्योग तथा परियोजनामार्फत उक्त लगानी प्रतिबद्धता आएको हो। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा १ सय २७ परियोजनाका लागि २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको थियो।
यस आधारमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशी लगानी प्रतिबद्धता निकै घटेको देखिन्छ। अघिल्लो वर्षको ठूलो हिस्सा एउटै परियोजनाले ओगटेको थियो। गत वर्ष चीनमा भैँसीको मासु निर्यात गर्ने ‘प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री’ परियोजनाका लागि मात्रै २० अर्ब ४५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो।
आईटीमा धेरै परियोजना
साउनमा परियोजनाको संख्याका आधारमा सूचना प्रविधि क्षेत्र सबैभन्दा अगाडि देखिएको छ। विभागका अनुसार यस क्षेत्रमा १ सय २८ वटा उद्योग दर्ता भएका छन्। तर, यी परियोजनामार्फत ५६ करोड ९८ लाख रुपैयाँ मात्रै एफडीआई प्रतिबद्धता आएको छ।
परियोजनाको संख्यामा पर्यटन क्षेत्र दोस्रो स्थानमा छ। साउनमा पर्यटनसँग सम्बन्धित ३३ वटा उद्योग दर्ता भएका छन्। ती परियोजनाका लागि १ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ।
सेवामूलक क्षेत्र १९ वटा परियोजनासहित तेस्रो स्थानमा रहेको छ। यस क्षेत्रका परियोजनाबाट ६८ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
त्यस्तै, उत्पादनमूलक क्षेत्रमा ९ वटा परियोजना दर्ता भएका छन्। ती उद्योगका लागि ८४ करोड ३२ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको विभागको तथ्यांक छ।
कृषि र ऊर्जा क्षेत्रमा भने साउनमा एक–एकवटा उद्योग मात्रै दर्ता भएका छन्।













