सन् २०२७ मा डिजेल गाडीसरह माइलेज दिने ठोस ब्याट्रीको परीक्षण गर्दै जिली
काठमाडाैँ । चिनियाँ अटोमोबाइल हस्ती जिली होल्डिङले वास्तविक विश्वको परीक्षण पूरा गरेपछि सन् २०२७ देखि आफ्ना विभिन्न ब्रान्डका गाडीहरूमा ठोस ब्याट्रीको प्रायोगिक थालनी गर्ने भएको छ।
यो नयाँ प्रविधिको ब्याट्रीप्याकको ऊर्जा घनत्व प्रति किलोग्राम ५०० वाट घण्टासम्म पुग्नेछ, जसका कारण ब्याट्रीबाट चल्ने विद्युतीय सवारी साधनहरूले डिजेल गाडीसरह नै लामो दूरी तय गर्न सक्नेछन्। बीवाइडी र सीएटीएलले सन् २०२७ सम्ममा ठोस ब्याट्रीको परीक्षण उत्पादन गर्ने घोषणा गरेलगत्तै जिलीले पनि आफ्नो यो योजना सार्वजनिक गरेको हो।
जिली होल्डिङ्सका विभिन्न ब्रान्डहरूको इकोसिस्टम अन्तर्गत आउने सवारी साधनहरूमा यी अत्याधुनिक ब्याट्रीहरू छिट्टै जडान हुनेछन्। यसमा जिली, जिकर, लिङ्क एन्ड को, भोल्भो, पोलस्टार, लोटस, स्मार्ट, प्रोटोन र फारिजनलगायतका ब्रान्डहरू समावेश छन्।
यी नयाँ ब्याट्रीहरू विभिन्न ऊर्जा घनत्वका विकल्पहरूमा उपलब्ध हुनेछन् जसमा सबैभन्दा उत्कृष्ट मानिएको ब्याट्रीप्याकको ऊर्जा घनत्व ५०० वाट आवर प्रति किलोग्राम हुनेछ। उपलब्ध विवरणहरू अनुसार जिलीले सम्पूर्ण ब्याट्रीप्याकको क्षमताको कुरा गरिरहेको छ, जसको अर्थ ब्याट्री सेलको आफ्नै ऊर्जा घनत्व अझ बढी हुनेछ।
हाल जिलीले उत्पादन गर्दै आएको ‘गोल्डेन ब्रिक’ तरल ब्याट्रीको सेल-स्तरको ऊर्जा घनत्व करिब २५० वाट आवर प्रति किलोग्राम रहेको छ।
नयाँ ५०० वाट आवर क्षमताको ठोस ब्याट्री जडान गरिएको गाडीले डिजेल इन्जिन भएका गाडीहरूसँग दाँज्न मिल्ने खालको माइलेज दिने जिलीले जनाएको छ। यसको मतलब यी गाडीहरूले एक पटकको चार्जमा एक हजार किलोमिटरभन्दा बढी दूरी पार गर्न सक्नेछन्। यस वर्षदेखि नै वास्तविक विश्वको अवस्थालाई ध्यानमा राखेर कम्पनीले यसको परीक्षणको काम सुरु गरिसकेको छ भने आफ्ना सबै ब्रान्डहरूमा यसको प्रायोगिक प्रयोग सन् २०२७ का लागि तय गरिएको छ।
जिलीको यो ठोस ब्याट्रीका लागि सामग्री विकासमा प्रसिद्ध बहुराष्ट्रिय कम्पनी डाउ केमिकलले साझेदारको रूपमा काम गरिरहेको कुरा डाउ केमिकलका प्रमुख खाता प्राविधिक नेता बो टोंगले खुलाएका छन्। यसअघि यसै आपूर्तिकर्ताले ठोस ब्याट्री सेलहरूका लागि एक विशेष टाँस्ने पदार्थ विकसित गरेको थियो जुन माइनस ४० डिग्री सेल्सियसदेखि १२० डिग्री सेल्सियससम्मको फराकिलो तापक्रममा पनि स्थिर रहन सक्छ।
यसअघि अटोमोबाइल क्षेत्रका अन्य दिग्गजहरूले ठोस ब्याट्रीको व्यावसायिकरण हुने समयसीमालाई लिएर केही संशय व्यक्त गरेका थिए। ब्याट्री विकासको नौ-सूत्रीय प्रविधि तयारी स्तर मापनअनुसार सीएटीएलका अध्यक्ष रोबिन जेङका अनुसार उनीहरूको ठोस ब्याट्री अहिले चौथो चरणमा रहेको छ। यसको अर्थ विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता कम्पनीले अहिलेसम्म पनि आंशिक स्तरका प्रोटोटाइपहरूमा मात्र काम गरिरहेको छ।
यद्यपि, सीएटीएलका प्रमुख वैज्ञानिक वु काईले भने कम्पनीले व्यावसायिक सर्तहरूमा पूर्ण-स्तरीय प्रोटोटाइप वा अन्तिम व्यावसायिक उत्पादनको प्रमाणीकरण गर्ने लक्ष्य राखिरहेको बताएका छन्। यसैबीच, बीवाइडीले पनि ठोस ब्याट्रीहरूको परीक्षण उत्पादन सुरु गर्ने योजना बनाइरहेको छ।













