३ भदौ २०८३, बुधबार

चिनीयाँ लक्जरी कार बजारमा हुवावे आइटो एम ९ को दबदबा, दुई महिनादेखि बिक्री ‘टप रेकर्ड’



काठमाडाैँ । हुवावेको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्स (हिमा) अन्तर्गत बजारमा आएको परिष्कृत लक्जरी एनईभी एसयूभी आइटो एम नाइनले चिनियाँ अटोमोवाइल बजारमा ऐतिहासिक सफलता हासिल गरेको छ।

प्रविधि क्षेत्रको यो दिग्गज कम्पनीका कार्यकारी निर्देशक रिचार्ड यूले ५ लाख युआन अर्थात् करिब ७४ हजार अमेरिकी डलरभन्दा महँगा सवारी साधनहरूको श्रेणीमा एम नाइन लगातार दुई महिनादेखि सर्वाधिक बिक्री हुने गाडी बनेको दाबी गरेका छन्। पूर्ण विद्युतीय र एक्सटेन्डेड रेन्ज पावरट्रेनमा उपलब्ध यो नयाँ एसयूभीले बजारमा पहिलेदेखि नै दबदबा जमाएका स्थापित प्रतिस्पर्धीहरूलाई पछाडि पारिदिएको छ।

यसमा मेबब्याच जीएलएस र अडी क्यु एट जस्ता प्रतिष्ठित पश्चिमी ब्रान्डहरू समेत पछाडि परेका छन्। हाल चिनियाँ उपभोक्ताहरूले प्रविधि र स्वचालित ड्राइभिङ क्षमतालाई विलासिताको प्रमुख मापदण्ड मान्ने गरेका छन्, जसमा पुराना अटो निर्माताहरू पछि परेका छन्।

चीनमा मानक एम नाइन सार्वजनिक भइसकेको छ भने यसको ‘अल्टिमेट’ लामो ह्विलबेस भेरियन्ट अहिले प्रि-सेल चरणमा रहेको छ, जसको डेलिभरी आगामी सेप्टेम्बरदेखि सुरु हुनेछ। सेरेस ग्रुपले हुवावेसँगको साझेदारीमा आइटो गाडीहरूको उत्पादन गर्दै आएको छ। कार्यकारी निर्देशक यूका अनुसार परिष्कृत आइटो एम नाइन खरिद गर्ने कुल ग्राहकहरूमध्ये ३० प्रतिशत हिमाका पुराना चालकहरू नै रहेका छन्।

उनीहरू हिमाको इकोसिस्टमभित्रै रहेर अझ ठूला र बिलासी गाडीहरू छानिरहेका छन्। यो समूहमा लुक्सिड, स्टेलाटो, म्याक्ट्रो र साइक ब्रान्डका सेडान, क्रसओभर र एमपीभीहरू पनि पर्छन्। आइटो एम नाइन हिमाको प्रमुख एसयूभी हो भने ‘अल्टिमेट’ भेरियन्टले अझ बढी क्याबिन स्पेस र विलासिता खोज्ने वर्गलाई लक्षित गरेको छ।

विलासितालाई प्राथमिकता दिने यस्ता ग्राहकहरूले एम नाइनको कुल अर्डरको अर्को ३० प्रतिशत हिस्सा ओगटेको रिचार्ड यूले खुलासा गरेका छन्। स्ट्यान्डर्ड मोडलको तुलनामा यी ग्राहकहरूले ‘अल्टिमेट’ ट्रिमको अतिरिक्त लम्बाइ र लक्जरी फिचरका लागि थप १ लाख युआन अर्थात् १४ हजार ८ सय अमेरिकी डलर बढी तिर्नुपर्ने हुन्छ।

एम नाइनको औसत कारोबार मूल्य करिब ६ लाख युआन अर्थात् ८९ हजार अमेरिकी डलर रहेको छ। स्ट्यान्डर्ड आइटो एम नाइनको खुद्रा मूल्य ४ लाख ७९ हजार ८ सयदेखि ५ लाख ४९ हजार ८ सय युआन अर्थात् ७१ हजार २ सयदेखि ८१ हजार ६ सय अमेरिकी डलर र ‘अल्टिमेट’ भेरियन्टको मूल्य ६ लाख ४९ हजार ८ सयदेखि ६ लाख ५९ हजार ८ सय युआन अर्थात् ९६ हजार ४ सयदेखि ९८ हजार अमेरिकी डलरको बीचमा रहेको छ।

इन्जिन र ब्याट्री क्षमताका हिसाबले आइटो एम नाइन ८ सय भोल्टको पूर्ण विद्युतीय र ईआरईभी पावरट्रेनमा उपलब्ध छ। स्ट्यान्डर्ड र ‘अल्टिमेट’ दुवै विद्युतीय मोडलहरूमा क्याटलको १२० किलोवाट आवरको टर्नरी एनएमसी ब्याट्री जडान गरिएको छ, जसले ट्रिमको आधारमा ७०० देखि ७५० किलोमिटरको सीएलटीसी रेन्ज दिन्छ।

सबै विद्युतीय भेरियन्टहरू अल-ह्विल ड्राइभ हुन्, जसका ड्युअल मोटरहरूले संयुक्त रूपमा ४९७ किलोवाट अर्थात् ६६६ हर्सपावर उत्पादन गर्छन्। स्ट्यान्डर्ड ईआरईभी मोडलहरूमा यही ट्विन मोटरलाई क्याटलकै ६० र ७५.४ किलोवाट आवरका साना ब्याट्रीहरूसँग जोडिएको छ, जसले क्रमशः ३४० र ४२२ किलोमिटरको रेन्ज प्रदान गर्छन्। यसमा अगाडि १.५ लिटरको टर्बोचार्ज्ड रेन्ज एक्सटेन्डर राखिएको छ जसले ११८ किलोवाट अर्थात् १५८ हर्सपावर दिन्छ।

‘अल्टिमेट’ ईआरईभी मोडलहरूमा पावर क्षमता अझ बढाइएको छ। यसमा ट्रि-मोटर सेटअपमार्फत चारै चक्कामा ६६४ किलोवाट अर्थात् ८९० हर्सपावर शक्ति उत्पन्न हुन्छ भने ७५.४ किलोवाट आवरको ब्याट्रीले ३७८ किलोमिटरको रेन्ज दिन्छ। यसको टर्बोचार्ज्ड रेन्ज एक्सटेन्डरलाई २ लिटरमा बढाएर १३३ किलोवाट अर्थात् १७८ हर्सपावर क्षमताको बनाइएको छ।

आकारमा, स्ट्यान्डर्ड एम नाइन ५,२८५ मिमी लामो, २,०२६ मिमी चौडा र १,८४५ मिमी अग्लो छ भने यसको ह्विलबेस ३,१२५ मिमी छ। ‘अल्टिमेट’ भेरियन्टको चौडाइ र उचाइ उस्तै भए पनि ह्विलबेस ३,२३६ मिमी र कुल लम्बाइ ५,४०२ मिमी पुगेको छ।

हिमाको प्रमुख लक्जरी एसयूभी भएकाले यसमा हुवावेको एडीएस् 5.0 असिस्टेड-ड्राइभिङ सिस्टम स्ट्यान्डर्ड रूपमा दिइएको छ। यसमा ६ वटा लाइडार, ५ वटा एमएमवेभ रडार, १२ वटा अल्ट्रासोनीक रडार र १२ वटा क्यामेराहरू जडान गरिएका छन्। यसमा नेभिगेसन-अन-अटोपायलट र अटाेनाेमस पार्किङ उपलब्ध छ।

चीन ईभी डेटाट्र्याकरका अनुसार आइटोले सन् २०२६ को जुलाईमा घरेलु बजारमा ९,६३९ थान एम नाइन डेलिभर गरेको छ। बजारमा आएपछि नयाँ मोडलहरूले सन् २०२६ को जुनमा नै १०,००० भन्दा बढी मासिक युनिट बिक्रीको आँकडा पार गर्दै आइटो र हिमाका लागि ऐतिहासिक सफलता दिलाएका छन्।