म्याक्सस ई टेरेन पिकअपमा भदौ १५ सम्म छुट, नाइमा एक्स्पोमा ४४ बुकिङ
काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटरोक्स प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का क्रममा म्याक्सस ई–टेरेन पिकअपका ४४ वटा बुकिङ भएको जनाएको छ। बुकिङमध्ये कम्फर्ट भर्सनका ३६ वटा र प्रिमियम भर्सनका ८ वटा छन्।
कम्पनीले करिब तीन साताअघि सार्वजनिक गरेको ई–टेरेन कम्फर्ट भर्सनलाई ८८ लाख रुपैयाँमा बजारमा ल्याएको थियो। नाइमा अटो शोको अवसरमा कम्पनीले उक्त मोडलमा २ लाख रुपैयाँ छुट दिएको थियो। त्यस्तै, १ करोड २८ लाख रुपैयाँ मूल्य तोकिएको प्रिमियम भर्सनमा ५ लाख रुपैयाँ छुटको व्यवस्था गरिएको थियो।
सुरुमा एक्स्पो अवधिका लागि मात्र लागू गरिएको छुट योजना ग्राहकको आग्रहपछि भदौ १५ गतेसम्म निरन्तरता दिइएको कम्पनीले जनाएको छ। छुट सुविधामा म्याक्सस ई–टेरेन पिकअप खरिद गर्न इच्छुक ग्राहकले हात्तीसारस्थित म्याक्ससको सोरुममा पुगेर बुकिङ गर्न सक्नेछन्।
‘परिवार र व्यवसायका लागि एउटै सवारी’ भन्ने नारासहित बिक्री–वितरण सुरु गरिएको म्याक्सस पिकअप छोटो समयमै नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ। विशेषगरी युवा पुस्ता, कच्ची सडकमा नियमित यात्रा गर्नुपर्ने ग्राहक तथा क्याम्पिङमा रुचि राख्नेहरू यसप्रति आकर्षित भएको कम्पनीले जनाएको छ।
आक्रामक डिजाइन, सुविधा सम्पन्न क्याबिन र उच्च ग्राउन्ड क्लियरेन्सका कारण ई–टेरेन पिकअप निजी तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ। निर्माण तथा हाइड्रोपावर क्षेत्रमा काम गर्ने व्यवसायीका लागि समेत यो विद्युतीय पिकअप उपयोगी र किफायती हुने कम्पनीले जनाएको छ।
चीनको विश्वसनीय तथा प्रतिष्ठित कम्पनीअन्तर्गत उत्पादन हुने भएकाले नेपाली ग्राहकले म्याक्ससप्रति छिट्टै विश्वास कायम गरेको कम्पनीको दाबी छ। बिक्रीपछिको सेवाका लागि आवश्यक स्पेयर पार्ट्स तथा सर्भिस सुविधा सहज रूपमा उपलब्ध गराउन कम्पनीले कुनै कसर बाँकी नराख्ने जनाएको छ।













