३ भदौ २०८३, बुधबार

एनएमबी बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन



काठमाडौं । एनएमबी बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

एससी पावर कम्पनी प्रालिले तिलाखोलामा निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ। उक्त लागतको ४४ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी हुने भएको छ।

वित्तीय व्यवस्थापनमा एनएमबी बैंक अगुवा बैंकका रूपमा रहेको छ। ग्लोबल आईएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन् भने अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाको समेत ऋण लगानी रहनेछ।

एससी पावर कम्पनीको नेतृत्व अध्यक्ष सुसन कर्माचार्य र उनको समूहले गरिरहेको छ। आयोजनाको उत्पादन अनुमतिपत्रअनुसार यसको क्षमता ४४० मेगावाट रहेको छ। विद्युत खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाले वि.सं. २०८७ पुस १५ अर्थात् ३१ डिसेम्बर २०३० देखि व्यावसायिक उत्पादन सुरु गर्नुपर्नेछ।

वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा एनएमबी बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र एससी पावर कम्पनीका अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गरेका छन्।

निजी क्षेत्रको लगानी तथा नेतृत्वमा अघि बढाइएको तिला–१ जडित क्षमताका आधारमा हालसम्मकै ठूला जलविद्युत आयोजनामध्ये एक भएको जनाइएको छ। आयोजना निर्माण सम्पन्न भएपछि पहिलो वर्ष करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

एनएमबी बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आयोजनाको लगानीअघि वातावरणीय, सामाजिक तथा सुशासन पक्षको अध्ययन तथा मूल्यांकन गरेको जनाएको छ। बैंकले नेपाल राष्ट्र बैंकको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार आफ्ना लगानीमा वातावरणीय तथा सामाजिक पक्षको मूल्यांकन गर्दै आएको जनाएको छ।

अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गर्ने क्रममा आयोजनाको प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षणसमेत गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ।

एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।