कागजी झन्झट र ढिलासुस्तीले निर्जीवन बीमा कम्पनीको दाबी फर्छ्योट सुस्त, कुनको कति बाँकी ?
काठमाडौँ। नेपालको निर्जीवन बीमा क्षेत्रमा समयमै दाबी भुक्तानी नहुनु लामो समयदेखि बीमितहरूको प्रमुख गुनासो र क्षेत्रगत चुनोतीका रूपमा रहँदै आएको छ। दुर्घटना, सम्पत्ति क्षति वा प्राकृतिक विपद्पछि परेका दाबीहरूको मूल्याङ्कन प्रक्रियामा हुने ढिलाइ, जटिल कागजी प्रक्रिया र बीमक तथा सर्भेयरहरूबीचको समन्वय अभावले भुक्तानी प्रक्रियालाई अस्वाभाविक रूपमा लम्ब्याउने गरेको छ।
दाबी फर्छ्योट प्रक्रिया चुस्त हुन नसक्दा बीमा क्षेत्रप्रतिको जनविश्वास कमजोर हुनुका साथै सर्वसाधारणमा बीमाप्रतिको आकर्षण सोचेजति बढ्न सकेको छैन। नियामक निकाय नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी प्रक्रियालाई पारदर्शी र द्रुत बनाउन विभिन्न मार्गदर्शन तथा निर्देशनहरू जारी गर्दै आए पनि बाँकी दाबीको संख्या वर्षेनि बढ्दै जानुले कार्यान्वयन पक्षको फितलोपनलाई छताछुल्ल पारेको छ।
विशेष गरी बीमा कम्पनीहरूबीचको मर्जर (गाभिने प्रक्रिया) पछि वित्तीय र व्यवस्थापकीय आकार बढे पनि आन्तरिक दाबी व्यवस्थापन प्रणाली अझै सोही अनुपातमा आधुनिक र प्रविधिमैत्री बन्न सकेको छैन। जसका कारण अघिल्ला वर्षहरूका बक्यौता दाबी सर्दै जाँदा समग्र निर्जीवन बीमा क्षेत्रमै दायित्वको चाप थपिँदै गएको देखिन्छ।
नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका १४ वटा कम्पनीमा आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म १ लाखभन्दा बढी बीमा दाबी फर्छ्योट हुन बाँकी रहेको पाइएको छ। कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असार मसान्तसम्म कुल १ लाख ४ हजार ७४८ वटा दाबी प्रक्रियामै रहेका छन्।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा यस्तो दाबी संख्या ९७ हजार ५३८ थियो। यस वर्ष बाँकी दाबी ७ हजार २१० वटाले थपिएका छन्। अघिल्लो वर्षको तुलनामा बाँकी दाबीको संख्या ७.३९ प्रतिशतले बढेको हो।
सबैभन्दा धेरै फर्छ्योट हुन बाँकी दाबी शिखरको
निर्जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक हेर्दा सबैभन्दा धेरै फर्छ्योट हुन बाँकी दाबी शिखर इन्स्योरेन्समा देखिएको छ। असार मसान्तसम्म कम्पनीमा १४ हजार ९९३ वटा दाबी बाँकी छन्। अघिल्लो वर्ष १२ हजार ५०७ वटा बाँकी दाबी रहेकोमा गत आवमा १९.८८ प्रतिशत वृद्धि भएको हो।
यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ११ हजार ६४८ वटा दाबी फर्छ्योट हुन बाँकी छन्। अघिल्लो वर्ष १२ हजार ५२३ वटा रहेको दाबी फर्छ्योट हुन बाँकी संख्या गत आवमा ६.९९ प्रतिशतले घटेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ११ हजार २५९ वटा दाबी बाँकी छन्। अघिल्लो वर्षमा कम्पनीको बाँकी दाबी संख्या ११ हजार ४९७ थियो।
यसैगरी नेको इन्स्योरेन्समा १० हजार ९०६, हिमालयन एभरेस्ट इन्स्योरेन्समा ९ हजार ६४०, युनाइटेड अजोड इन्स्योरेन्समा ९ हजार ४९८ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ७ हजार ८९७ वटा दाबी फर्छ्योट हुन बाँकी छन्। एनएलजी इन्स्योरेन्समा ६ हजार ५६५ र राष्ट्रिय बीमा कम्पनीमा ५ हजार ९६४ वटा दाबी फर्छ्योट हुन बाँकी छन्।
नेपाल इन्स्योरेन्समा असार मसान्तसम्म ५ हजार ८९८ वटा दाबी फर्छ्योट हुन बाँकी छन्। अघिल्लो आर्थिक वर्षको अन्त्यमा ४ हजार ४८९ वटा रहेकोमा एक वर्षमा यस्तो दाबी ३१.३९ प्रतिशतले बढेको हो। प्रतिशतका आधारमा हेर्दा बाँकी दाबी बढ्ने कम्पनीमध्ये नेपाल इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ।
यस्तै, सानिमा जिआइसी इन्स्योरेन्समा ५ हजार १२०, प्रभु इन्स्योरेन्समा १ हजार ९७० र नेसनल इन्स्योरेन्समा १ हजार ७५० वटा दाबी फर्छ्योट हुन बाँकी छन्। द ओरिएन्टल इन्स्योरेन्समा भने असार मसान्तसम्म १ हजार ६४० वटा दाबी फर्छ्योट हुन बाँकी छन्।
कुन कम्पनीको फर्छ्योट हुन बाँकी दाबी कति ?

वित्तीय दायित्वको अस्वाभाविक चाप व्यवस्थापन गर्न कम्पनीहरूले सर्भेयर मूल्याङ्कन, कागजी प्रक्रिया र दाबी भुक्तानी प्रणालीलाई पूर्ण रूपमा डिजिटल र पारदर्शी बनाउनु अत्यावश्यक भइसकेको छ। यसका साथै, नियामक निकाय नेपाल बीमा प्राधिकरणले केवल तथ्याङ्क सङ्कलन र निर्देशन जारी गर्नेमा मात्र सीमित नभई दाबी फछ्र्योटको स्पष्ट समयसीमा तोकी सोको कडाइका साथ अनुगमन र पालना गराउन पनि अपरिहार्य छ।













