धौवादी फलाम खानी उत्खननको योजना : ९ करोड ६० लाख धाउ फलाम निकाल्ने लक्ष्य
काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादी क्षेत्रमा रहेको फलाम खानीलाई व्यावसायिक रूपमा अघि बढाउने तयारी थालेको छ। कम्पनीले खानी उत्खनन तथा विकाससम्बन्धी योजना तयार गरी खानी तथा भू–गर्भ विभागमा प्रतिवेदन पेश गरेको जनाएको छ।
करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खानीबाट अनुमानित ९ करोड ६० लाख धाउ फलाम उत्खनन गर्न सकिने सम्भावनालाई आधार बनाएर कम्पनीले योजना अघि सारेको हो।
कम्पनीले खानी क्षेत्रलाई ‘धौवादी पोखरी ब्लक’ र ‘दुर्लुङ ब्लक’ गरी दुई भागमा विभाजन गरेको छ। धौवादी पोखरी ब्लक करिब २५ वर्ग किलोमिटर र दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। योजना स्वीकृत भएपछि फलामको भण्डार र गुणस्तरबारे थप अध्ययन गर्दै उत्खननको प्रक्रिया अघि बढाउने कम्पनीको तयारी छ।
नेपालमा स्वदेशी फलामको व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित स्थापना भएको कम्पनीले भूमिगत फलामको अवस्थाबारे अध्ययन गर्न विभिन्न १२ स्थानमा ड्रिलिङ गरेको छ। कम्पनीका निर्देशक शैलेशकुमार थापाका अनुसार अहिलेसम्म करिब १ हजार ५०० मिटर ड्रिलिङ सम्पन्न भइसकेको छ।
कम्पनीका अनुसार अहिले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को प्रक्रिया अघि बढिरहेको छ। साथै, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम पनि चाँडै सुरु गर्ने तयारी गरिएको छ।
परियोजना सञ्चालनमा आएपछि नेपालमा हुने फलामजन्य वस्तुको आयातमा कमी ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। निर्देशक थापाका अनुसार उत्पादनले देशको कुल मागको करिब २५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्न सक्ने सम्भावना छ। उनका अनुसार खानी सञ्चालनसँगै रोजगारीका अवसर विस्तार हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्नेछ।
खानी क्षेत्रसम्म पहुँच सहज बनाउन आवश्यक सडक तथा अन्य पूर्वाधार निर्माण र सडक स्तरोन्नतिको कामसमेत भइरहेको कम्पनीले जनाएको छ।













