४ भदौ २०८३, बिहिबार

ऋण नतिरेपछि उद्यमी रुपज्योतिको झण्डै ५८ करोडको धितो लिलामीमा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्जा भुक्तानी नभएको भन्दै रुप ज्योतिको स्वामित्व रहेको एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिको धितो सम्पत्ति लिलाम गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले विभिन्न शाखाबाट प्रवाह भएको कर्जा असुलीका लागि सिलबन्दी बोलपत्रमार्फत धितो सम्पत्ति बिक्री गर्न लागेको हो।

बैंकले ऋणी कम्पनी तथा जमानीकर्तालाई ३५ दिनभित्र बैंकमा सम्पर्क गरी बाँकी साँवा, ब्याज र अन्य शुल्क भुक्तानी गरेर धितो फुकुवा गर्न सार्वजनिक सूचना जारी गरेको हो।

एनजिएम इन्जिनियरिङ एन्ड सेल्सले राष्ट्रिय वाणिज्य बैंकबाट तीन प्रकारका कर्जा लिएको बैंकको सूचनामा उल्लेख छ। जसमा चालू पुँजी कर्जा, ब्रिज ग्याप कर्जा १ र ब्रिज ग्याप कर्जा ३ रहेका छन्।

कम्पनीका संस्थापक शेयरधनीमा डा. रुप ज्योति, अभिक ज्योति, सुरुचि ज्योति तथा उपष्ठान एन्ड कम्पनी प्रालि रहेका छन्।

५७ करोडभन्दा बढी मूल्यांकनको जग्गा लिलाममा

बैंकले लिलाम गर्न लागेको धितो सम्पत्ति रुप ज्योतिको नाममा दर्ता रहेको छ। पर्साको मालपोत कार्यालय वीरगञ्जमा दर्ता रहेको चोर्नी–२ स्थित कित्ता नम्बर १३ र १५ का दुई वटा जग्गा लिलाम गर्न लागिएको हो।

कित्ता नम्बर १३ को क्षेत्रफल ३३ हजार १७५ वर्गमिटर र कित्ता नम्बर १५ को क्षेत्रफल २८ हजार ९५ वर्गमिटर रहेको छ। यी दुवै जग्गाको न्यूनतम मूल्य ५७ करोड ५७ लाख २१ हजार रुपैयाँ निर्धारण गरिएको बैंकले जनाएको छ।