नेपाल डिस्टिलरिज ‘फ्लेम अवार्ड्स एसिया २०२६’ मा ४ विधामा सम्मानित
काठमाडौँ । नेपाल डिस्टिलरिज प्रालि (एनडीपीएल) ले ‘फ्लेम अवार्ड्स एसिया २०२६’ मा चार वटा प्रमुख सम्मान जितेको छ। नेपाली ब्रान्ड निर्माण र सिर्जनशीलताको यात्रामा कम्पनीले दुई स्वर्ण, एक रजत र प्रतिष्ठित ‘दक्षिण एसिया ग्रान्ड प्रिक्स’ अवार्ड जितेर यो ठूलो सफलता हासिल गरेको हो।
भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा एनडीपीएललाई यी अवार्डहरू प्रदान गरियो। दक्षिण एसियाभरका उत्कृष्ट ब्रान्ड, मार्केटिङ र उपभोक्ता संलग्नताका क्षेत्रमा योगदान पुर्याएबापत एनडीपीएलका दुई प्रमुख ब्रान्डका अभियानहरू सम्मानित भएका हुन्। यी अभियानहरूको सिर्जनात्मक एजेन्सी आउटरीच नेपाल रहेको छ।
अवार्डअन्तर्गत ‘मेरो खुकुरी’ अभियानले दक्षिण एसिया इमर्जिङ मार्केट र दक्षिण एसिया लास्ट–माइल इनोभेसन गरी दुई वटा विधामा स्वर्ण पदक जितेको छ। त्यसैगरी, न्युडको ‘जस्ट बी यु’ अभियानले समारोहको सबैभन्दा ठूलो सम्मान ‘दक्षिण एसिया ग्रान्ड प्रिक्स’ हासिल गरेको छ भने पोखरा फ्ल्यास मोबले साना बजेटका अभियान विधामा रजत अवार्ड जित्न सफल भएको छ।
यस सफलताको केन्द्रमा रहेको ‘मेरो खुकुरी’ अभियान पुस्तौँदेखि उपभोक्ताले ब्रान्डसँग गाँसेको गहिरो सम्बन्धमा आधारित थियो। यसले उपभोक्ताको अपनत्वलाई सम्मान गर्दै उनीहरूलाई नै ब्रान्डको कथाको केन्द्रमा राख्यो। सशक्त ब्रान्ड अवधारणा र अर्थपूर्ण सहभागिता गराउन सफल भएकाले यस अभियानले दुई वटा स्वर्ण अवार्ड जितेको हो।
समारोहको सबैभन्दा ठूलो सम्मान जित्ने न्युडको ‘जस्ट बी यु’ अभियान व्यक्तिगत पहिचान र आत्म-अभिव्यक्तिको अवधारणामा बनेको थियो। यस अभियानले साहसी र सांस्कृतिक रूपमा सान्दर्भिक सन्देश दिँदै उपभोक्तामाझ गहिरो छाप छाड्न सफल भयो।
त्यसैगरी, साना बजेटका अभियान विधामा रजत अवार्ड जितेको पोखरा फ्ल्यास मोबले ठूलो प्रभाव पार्न सधैँ धेरै लगानी चाहिँदैन भन्ने कुरा प्रमाणित गरिदिएको छ। सशक्त स्थानीय बुझाइ, सिर्जनशीलता र प्रभावकारी कार्यान्वयनका कारण यसले थोरै बजेटमा पनि ठूलो सफलता हासिल गर्यो।
चारवटै सम्मान फरक-फरक विधाबाट प्राप्त भए पनि तिनको मूल आधार मानिस र नेपाली संस्कृतिको गहिरो बुझाइ नै हो। यस सफलताले नेपाल डिस्टिलरिज र आउटरीच नेपालबीचको बलियो सिर्जनात्मक साझेदारीलाई उजागर गरेको छ।
यी केवल अवार्ड मात्र नभएको भन्दै नेपाल डिस्टिलरिजले यस उपलब्धिले नेपालमै जन्मिएका, नेपाली उपभोक्ताबाट प्रेरित र सिर्जनशीलता तथा दृढ विश्वासका साथ कार्यान्वयन गरिएका विचारहरूले दक्षिण एसियाका उत्कृष्ट कामहरूमाझ आफ्नो स्थान बनाउन सक्छन् भन्ने विश्वासलाई अझ बलियो बनाएको जनाएको छ।













