७ भदौ २०८३, आइतबार

वित्त कम्पनीहरुको नाफामा उछाल, कुन कम्पनीले कति कमाए ?



काठमाडौँ। फाइनान्स कम्पनीहरूको वित्तीय प्रदर्शनमा गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म १४ वटा फाइनान्स कम्पनीले कुल १ अर्ब ६४ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूको संयुक्त नाफा ६७ करोड ४ लाख रुपैयाँ थियो। यसअनुसार एक वर्षको अवधिमा वित्त कम्पनीहरुको समग्र नाफा १४४.६६ प्रतिशतले बढेको हो।

ब्याज आम्दानी बढ्नु, इम्पेयरमेन्ट चार्ज घट्नु तथा अघिल्लो वर्ष घाटामा रहेका केही कम्पनी नाफामा फर्किनुले समग्र नाफा बढाउन सहयोग गरेको देखिन्छ।

मन्जुश्रीको नाफा सर्वाधिक

गत आर्थिक वर्षमा नेपाल फाइनान्सबाहेक सबै फाइनान्स कम्पनी नाफामा रहेका छन्। कम्पनीहरूमध्ये मन्जुश्री फाइनान्सले सबैभन्दा धेरै ३७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २०.३६ प्रतिशतको वृद्धि हो।

नेपाल फाइनान्स भने समीक्षा अवधिमा ६ करोड ९६ लाख रुपैयाँ घाटामा गएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

अघिल्लो वर्षको तुलनामा रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको नाफा घटेको छ भने अन्य कम्पनीहरूको नाफामा वृद्धि भएको छ।

कुन वित्त कम्पनीको नाफा कति ?

९ कम्पनीको निष्क्रिय कर्जामा सुधार

गत आर्थिक वर्ष अधिकांश फाइनान्स कम्पनीले खराब कर्जा अनुपात (एनपीएल) घटाउन सफल भएका छन्। वित्तीय विवरणअनुसार ९ कम्पनीको एनपीएल घटेको छ भने ५ कम्पनीको निष्क्रिय कर्जा बढेको छ।

यद्यपि, ८ वटा फाइनान्स कम्पनीको एनपीएल अझै ५ प्रतिशतभन्दा माथि रहेको छ। नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार ५ प्रतिशत वा त्यसभन्दा कम एनपीएल अनुपातलाई तुलनात्मक रूपमा स्वस्थ मानिन्छ भने सोभन्दा माथिको एनपीएलले कर्जा जोखिम बढी रहेको संकेत गर्छ।

गत आवमा जानकी फाइनान्सको एनपीएल सबैभन्दा उच्च ६१.५५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खराब कर्जा अनुपात १२.९४ प्रतिशत अंकले बढेको हो।

यसको विपरीत आईसीएफसी फाइनान्सको एनपीएल सबैभन्दा कम रहेको छ। कम्पनीले खराब कर्जा अनुपात ०.२९ प्रतिशत अंकले घटाउँदै १.५५ प्रतिशतमा झारेको छ।

वित्त कम्पनी सर्वसाधारणबाट निक्षेप संकलन गरी कर्जा प्रवाह, लगानी तथा अन्य वित्तीय सेवा प्रदान गर्ने नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त वित्तीय संस्था हुन्। यस्ता कम्पनीहरूको वित्तीय अवस्थाले समग्र वित्तीय प्रणालीको स्थायित्व र कर्जा प्रवाहमा समेत प्रभाव पार्ने भएकाले तिनको नाफा, कर्जाको गुणस्तर र जोखिम व्यवस्थापन महत्वपूर्ण मानिन्छ।

गत आवको वित्त कम्पनीहरुका वित्तीय विवरणहरुले वित्त कम्पनीहरूमा सुधारका संकेत देखिए पनि वित्तीय स्थायित्व कायम गर्न कर्जा जोखिम नियन्त्रण र निष्क्रिय कर्जाको प्रभावकारी व्यवस्थापनमा निरन्तर ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।