कर्जाको माग सुस्ताएपछि बैंकहरूको ‘ट्रेडिङ’ रणनीति : नेट ट्रेडिङ आम्दानी १३ अर्ब नाघ्यो
काठमाडौँ। तरलताको चाप र निष्क्रिय कर्जाको दबाबमा रहेका वाणिज्य बैंंकहरुले निक्षेप सङ्कलन र कर्जा प्रवाह गर्ने परम्परागत बैंकिङ सेवामा मात्र सीमित नरही वित्तीय बजारका अन्य उपकरणको कारोबारबाट पनि पछिल्लो समय राम्रो आम्दानी गर्न थालेका छन्।
कर्जाको मागमा सुस्तता आएपछि ब्याज आम्दानीमा परेको तीव्र दबाबका बिच बैंकहरूले आफ्नो वित्तीय रणनीतिमा चलाखीपूर्ण परिवर्तन गर्दै बजारका अन्य उपकरणहरूबाट मनग्ये आम्दानी गर्ने बाटो पहिल्याएका हुन्।
सेयर बजार, सरकारी ऋणपत्र, विदेशी मुद्रा विनिमय तथा ट्रेजरी कारोबारमा आक्रामक रूपमा उत्रिएका बैंकहरूले गैरब्याज आम्दानी मार्फत आफ्नो नाफाको ग्राफलाई ह्वात्तै माथि पुर्याउन सफल भएका छन्।
नेपाल राष्ट्र बैंकले ‘नन–डेलिभरेबल फर्वार्ड’ जस्ता वित्तीय साधनमा लगानीको दायरा फराकिलो बनाइदिएपछि बजारको उतारचढावलाई अवसरमा बदल्न बैंकहरू सफल देखिएका छन्।
यही ‘स्मार्ट’ ट्रेडिङ रणनीतिकै बलमा गत आर्थिक वर्ष २०८२/८३ मा बैंकहरूको नेट ट्रेडिङ आम्दानी झन्डै ४० प्रतिशतले बढेको छ।
वाणिज्य बैंकहरुको ‘नेट ट्रेडिङ’ आम्दानी १३ अर्ब नाघ्यो
वाणिज्य बैंकहरूले नियमित बैंकिङ सेवाबाट हुने आम्दानीसँगै सेयर, सरकारी ऋणपत्र, विदेशी मुद्रा तथा अन्य वित्तीय उपकरणको कारोबारबाट गैरब्याज आम्दानी बढाउन सफल भएका छन् ।
गत आर्थिक वर्ष २०८२/८३ मा २० वाणिज्य बैंकले कुल १३ अर्ब ११ करोड ४५ लाख रुपैयाँ नेट ट्रेडिङ आम्दानी गरेका छन्। यो रकम अघिल्लो आर्थिक वर्षको ९ अर्ब ३६ करोड ९२ लाख रुपैयाँको तुलनामा ३९.९७ प्रतिशत बढी हो।
बैंकहरूको ट्रेडिङ आम्दानी बढ्नुमा मुद्रा बजार, ट्रेजरी कारोबार र विदेशी विनिमय कारोबार प्रमुख कारण बनेका छन्। यसबाहेक सेयर तथा अन्य वित्तीय साधनको किनबेचबाट पनि बैंकहरूले नाफा आर्जन गरेका हुन्। नेपाल राष्ट्र बैंकले नन–डेलिभरेबल फर्वार्ड (एनडीएफ) कारोबारमा लगानी गर्न सक्ने सीमा विस्तार गरेपछि केही बैंकको ट्रेडिङ आम्दानी थप बढेको देखिन्छ।
सेयर, सरकारी ऋणपत्र, विदेशी मुद्रा लगायत वित्तीय साधनको खरिद–बिक्रीबाट भएको नाफा र घाटालाई समायोजन गरेपछि प्राप्त हुने खुद रकमलाई नेट ट्रेडिङ इनकम भनिन्छ।
यसैबीच, आर्थिक वर्ष २०८२/८३ मा २० वाणिज्य बैंकको कुल नाफा करिब ६९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो ३२.३२ प्रतिशतको वृद्धि हो। ब्याज आम्दानीमा दबाब कायम रहे पनि ट्रेडिङ लगायत गैरब्याज आम्दानीका स्रोतले बैंकहरूको समग्र नाफा बढाउन सहयोग गरेका छन्।
गत आर्थिक वर्षमा कृषि विकास बैंकबाहेक सबै वाणिज्य बैंकले ट्रेडिङबाट हुने आम्दानीमा वृद्धि गरेका छन्। रकमका आधारमा ग्लोबल आइएमई बैंक अगाडि रहेको छ। बैंकले यस स्रोतबाट करिब १ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षभन्दा ४२.२३ प्रतिशत बढी हो।
नबिल बैंक, लक्ष्मी सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ट्रेडिङ तथा सम्बन्धित गैरब्याज आम्दानीबाट एक अर्ब रुपैयाँभन्दा बढी कमाएका छन्।
वृद्धिदर हेर्दा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकको यस्तो आम्दानी एक वर्षमा १३८.९३ प्रतिशतले बढेको छ। कृषि विकास बैंकको ट्रेडिङ आम्दानी भने ७२.७२ प्रतिशतले घटेको छ।
वाणिज्य बैंकहरूको नेट ट्रेडिङ आम्दानी (रु. हजारमा)

समग्रमा ट्रेडिङबाट भएको यो उल्लेख्य वृद्धिले विषम आर्थिक परिस्थितिमा पनि वाणिज्य बैंकहरूको वित्तीय सबलता र नाफा आर्जनको नयाँ सम्भावनालाई उजागर गरेको छ।














