प्रतिनिधी सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
काठमाडौँ। प्रतिनिधी सभाको बैठक आज बस्दै छ। सङ्घीय संसद्, प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ४७ औँ बैठक सोमबार दिउँसो १ बजे बस्न लागेको हो। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ।
बैठकको कार्यव्यवस्थाअन्तर्गत चारवटा विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव अघि बढाइने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन्।
त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव राख्नेछिन्।
यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछिन्।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सोमबारको बैठकमा मुख्यतः विधेयकहरूलाई समितिगत छलफलमा पठाउने प्रक्रिया अघि बढाउने विषय समेटिएको छ। समितिमा पठाइएपछि सम्बन्धित विधेयकमा दफावार अध्ययन तथा छलफलको प्रक्रिया अगाडि बढ्नेछ।















