९ भदौ २०८३, मंगलबार

उद्यमशील क्षमता विकास गर्न राष्ट्र बैंकको आग्रह, विचारलाई मूल्यमा परिणत गर्न सुझाव



काठमाडौं। नेपाल राष्ट्र बैंकले व्यक्ति तथा संस्थाको आर्थिक, सामाजिक र व्यावसायिक प्रगतिका लागि उद्यमशील क्षमता विकास गर्न आग्रह गरेको छ। मंगलबार बैंकले वित्तीय चेतनासम्बन्धी सन्देश जारी गर्दै उद्यमशीलता कुनै व्यवसाय सञ्चालनमा मात्र सीमित नभई समाजका लागि आर्थिक, सांस्कृतिक तथा सामाजिक मूल्य सिर्जना गर्ने कार्य भएको स्पष्ट पारेको हो।

राष्ट्र बैंकका अनुसार निजी, सार्वजनिक तथा सामाजिक क्षेत्रका साथै विभिन्न मूल्य शृंखलामा कार्यरत कर्मचारी, व्यवसायी तथा सर्वसाधारण सबैमा उद्यमशील क्षमता आवश्यक हुन्छ। बैंकले उद्यमशील क्षमतालाई मुख्यतः विचार तथा अवसर पहिचान गर्ने, स्रोत जुटाउने र विचारलाई कार्यमा परिणत गर्ने तीन क्षेत्रमा विभाजन गरेको छ।

उद्यमशील क्षमताका तीन चरण

विचार तथा अवसर पहिचानअन्तर्गत सम्भावित अवसर देख्ने तथा उपयोग गर्ने, नयाँ र उपयोगी विचार विकास गर्ने, भविष्यको स्पष्ट दृष्टिकोणसहित योजना बनाउने तथा विचारको सम्भावना र प्रभाव मूल्याङ्कन गर्ने क्षमतालाई प्राथमिकता दिइएको छ। साथै कुनै विचारको सामाजिक, सांस्कृतिक, वातावरणीय तथा दीर्घकालीन प्रभावसमेत विचार गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, आवश्यक स्रोत पहिचान तथा परिचालन गर्न आत्मविश्वास, उत्प्रेरणा र दृढता आवश्यक रहेको बैंकको भनाइ छ। वस्तुगत तथा गैरवस्तुगत स्रोत, प्रविधि र वित्तीय स्रोतको उचित व्यवस्थापनसँगै वित्तीय तथा आर्थिक साक्षरता पनि उद्यमशील क्षमताको महत्वपूर्ण पक्ष रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ। अरूलाई प्रेरित गर्दै समन्वय र सहकार्यका माध्यमबाट सामूहिक लक्ष्य हासिल गर्ने क्षमतालाई समेत बैंकले स्रोत परिचालनसँग जोडेको छ।

विचारलाई व्यवहारमा परिणत गर्न कार्य सुरु गर्ने, योजना तथा व्यवस्थापन गर्ने, अनिश्चितता, दुविधा र जोखिम सामना गर्ने, सबैसँग मिलेर काम गर्ने तथा अनुभवबाट सिक्ने क्षमताको विकास गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

बैंकले कर्मचारी, व्यवसायी वा सामाजिक जीवनका जुनसुकै क्षेत्रमा रहे पनि उद्यमशील क्षमताको आवश्यकता पर्ने भन्दै व्यक्तिको उद्यमशीलता निरन्तर विकास गर्न आग्रह गरेको छ। राष्ट्र बैंकले विचारलाई मूल्यमा परिणत गर्न सुझाव दिएको छ।