प्रतिस्पर्धाले ततायो इन्टरनेट बजार, क्लासिक टेकको छलाङ, वर्ल्डलिंककाे अग्रता बर्करार
पछिल्लो एक वर्षको अन्तरालमा नेपालमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या १० प्रतिशतभन्दा बढीले वृद्धि हुँदा सेवाप्रदायकबीच आक्रामक प्रतिस्पर्धा देखिएको छ।
काठमाडाैँ । डिजिटल बजारमा इन्टरनेट प्रयोगकर्ताको दायरा फराकिलो बन्दै गएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार मुलुकभर ‘फिक्स्ड ब्रोडब्यान्ड’ इन्टरनेट सेवा लिने ग्राहकको संख्यामा उल्लेख्य छलाङ आएको छ।
पछिल्लो एक वर्षको अवधिमा मात्रै मुलुकभर कुल इन्टरनेट ग्राहक संख्या सवा तीन लाखभन्दा बढीले वृद्धि भएको छ। बजारमा नयाँ ग्राहक तान्न सेवाप्रदायक कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा चलेको यो तथ्यांकले स्पष्ट पारेको छ।
प्राधिकरणको विवरणअनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ३२ लाख ४८ हजार ६७४ रहेको कुल इन्टरनेट ग्राहक संख्या बढेर हाल ३५ लाख ७३ हजार ९५५ पुगेको छ। यो करिब १० प्रतिशतको समग्र वृद्धि हो। बजार हिस्साका लागि भइरहेको यो खिचातनीमा शीर्ष दशभित्र रहेका दुई कम्पनीबाहेक अन्य सबैको ग्राहक आधार बढेको छ।
आक्रामक बजार विस्तारको रणनीति अपनाएका कारण केही कम्पनीले अभूतपूर्व सफलता हात पारेका छन् भने केही पुराना खेलाडीले भने आफ्नो हिस्सा गुमाउन पुगेका छन्।
क्लासिक टेकको छलाङ, सुविसुलाई धक्का
यसपटक बजार विस्तारको दौडमा क्लासिक टेक सबैभन्दा आक्रामक देखिएको छ। उसले एकै वर्षमा एक लाखभन्दा बढी नयाँ ग्राहक जोड्न सफल भयो। गत आर्थिक वर्षसम्म एक लाख ८७ हजार हाराहारीमा ग्राहक रहेको यो कम्पनीले पछिल्लो अवधिमा एक लाख पाँच हजारभन्दा बढी ग्राहक थप्दै आफ्नो कुल संख्या दुई लाख ९२ हजार नौ सयभन्दा माथि पुर्याएको छ।
यो दरो उपस्थितिसँगै कम्पनी बजारको छैटौं स्थानबाट उक्लिँदै पाँचौं बलियो प्रतिस्पर्धी बन्न सफल भएको छ।
तर, लामो समयदेखि बजारमा जमेका केही नामका लागि भने यो वर्ष उत्साहजनक रहेन। बजारको स्थापित नाम सुविसु केबलनेटको ग्राहक संख्यामा गिरावट आएको छ। अघिल्लो वर्ष करिब तीन लाखको नजिक ग्राहक सङ्ख्या रहेको यो कम्पनीको आधार घटेर दुई लाख ६८ हजारमा सीमित हुन पुग्यो। ग्राहक घट्दा सुविसु बजारको पाँचौं स्थानबाट खस्किएर छैटौं स्थानमा झरेको छ। त्यस्तै, वेवसफरको बजारमा पनि संकुचन आएको छ।

वर्ल्डलिंकको पकड बलियो
बजारको सर्वोच्चता कायम राख्दै आएको वर्ल्डलिंक कम्युनिकेसनले आफ्नो अग्रतालाई अझ मजबुत बनाएको छ। पछिल्लो एक वर्षको अन्तरालमा यो कम्पनीले करिब ७९ हजार नयाँ ग्राहक आफ्नो नेटवर्कमा जोडेको छ। योसँगै यसको कुल ग्राहक संख्या १० लाख ९२ हजार नाघेको छ भने बजार हिस्सा ३०.५६ प्रतिशत पुगेको छ। यद्यपि, कम्पनीले यसअघि नै आफ्नो ग्राहक संख्या ११ लाख नाघेको दाबी गर्दै आएको थियो।
सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले पनि बजारमा आफ्नो पकड राम्रैसँग बलियो बनाएको छ। पछिल्लो एक वर्षमा टेलिकमले ६७ हजार आठ सयभन्दा बढी नयाँ ग्राहक तान्न सफल भयो। यससँगै नेपाल टेलिकमको कुल ग्राहक संख्या तीन लाख ५४ हजारबाट बढेर चार लाख २२ हजार पुगेको छ र यो बजारको दोस्रो ठूलो सेवाप्रदायकका रूपमा उभिएको छ।
यसैगरी, भायनेट कम्युनिकेसनले पनि करिब ५५ हजार नयाँ ग्राहक थप्दै तीन लाख ७३ हजारभन्दा बढी ग्राहक पुर्याएको छ र बजारमा चौथो स्थान सुरक्षित गरेको छ। समग्रमा हेर्दा, ग्राहक तान्नका लागि कम्पनीहरूले अपनाएको आक्रामक रणनीतिकै कारण नेपाली इन्टरनेट बजारमा शक्ति सन्तुलन फेरिन थालेको छ।
















