‘रेडबुल १३औँ कृति अवार्ड्स’ घोषणा, २४ नयाँ विधा थपिए
काठमाडौं। नेपालको विज्ञापन तथा मार्केटिङ क्षेत्रको प्रतिष्ठित ‘कृति अवार्ड्स २०८३’ को १३औँ संस्करण आयोजना हुने भएको छ। नेपाल विज्ञापन संघ (आन)ले मंगलबार आगामी महिना अवार्ड समारोह आयोजना गर्ने घोषणा गरेको हो।
मुख्य प्रायोजन रेडबुल इनर्जी ड्रिंक्सले गरेकाले यस वर्षको कार्यक्रम ‘रेडबुल १३औँ कृति अवार्ड्स २०८३’ नामकरण गरिएको छ। कार्यक्रममा नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल, एकोर्याब तथा ब्रोडकास्टर्स फोरम सहआयोजकका रूपमा सहभागी हुनेछन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सरकारको विज्ञापन बोर्डले इन्डोर्समेन्टसहित कार्यक्रमलाई सम्बन्धन तथा मान्यता प्रदान गरेका छन्। कृति अवार्ड्सले नेपाली विज्ञापन, मार्केटिङ तथा सञ्चार क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने विज्ञापन एजेन्सी, सिर्जनाकर्ता तथा ब्रान्डलाई सम्मान गर्दै आएको छ। १३ औँ संस्करणसम्म आइपुग्दा अवार्ड नेपाली मार्केटिङ क्षेत्रमा सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको आयोजकको दाबी छ।
यस वर्ष टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाल तथा एकीकृत अभियानलगायत क्षेत्रमा ३१ विधामा ५५ वटा अवार्डका लागि प्रतिस्पर्धा गराइनेछ। बदलिँदो विज्ञापन बजार र डिजिटल माध्यमको बढ्दो प्रभावलाई ध्यानमा राख्दै यस वर्ष डिजिटल, इभेन्ट्स र इन्टिग्रेटेड गरी तीन नयाँ क्षेत्र थपिएका छन्। ती क्षेत्रअन्तर्गत विभिन्न विधा समेटेर २४ वटा नयाँ विधा थप गरिएको आनले जनाएको छ।
यसबाट परम्परागत सञ्चारमाध्यमसँगै डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल, इभेन्ट्स तथा एकीकृत मार्केटिङ अभियानमा भएका सिर्जनात्मक कामलाई पनि प्रतिस्पर्धामा ल्याइएको छ। अवार्डको मूल्यांकनलाई पारदर्शी र विश्वसनीय बनाउन काठमाडौं विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. विजय केसीको अध्यक्षतामा जूरी गठन गरिएको छ। जूरीमा वरिष्ठ सञ्चारकर्मी भारती सिलवाल गिरी, वरिष्ठ मार्केटिङ विज्ञ रवीन्द्रमान श्रेष्ठसहित सम्बन्धित क्षेत्रका विशेषज्ञहरू सहभागी छन्। जूरीले विभिन्न विधाका विषयगत मूल्यांकनकर्ताको मनोनयन गरी उनीहरूबाट प्राप्त मूल्यांकनका आधारमा विजेताको छनोट गर्ने आयोजकले जनाएको छ।
आनका अनुसार यस वर्षको कृति अवार्ड्सका लागि मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ। इच्छुक विज्ञापन एजेन्सी तथा ब्रान्डले २०८० वैशाख १ गतेदेखि २०८३ असार मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्य प्रतिस्पर्धाका लागि दर्ता गराउन सक्नेछन्। यसले पछिल्ला तीन आर्थिक वर्षभन्दा बढी अवधिमा नेपाली विज्ञापन तथा मार्केटिङ क्षेत्रमा भएका सिर्जनात्मक अभियानलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा ल्याउनेछ।
आनका अध्यक्ष सुदीप थापाले यसपटक धेरै विधा थप गरेर नेपाली विज्ञापन क्षेत्रको सिर्जनात्मकतालाई थप प्रोत्साहन गर्न खोजिएको बताए। “कृति अवार्ड्सले सुरुवातदेखि नै विज्ञापन क्षेत्रको सिर्जनात्मकता र मौलिकतालाई प्रवद्र्धन गर्दै आएको छ। यस पटक यसलाई थप विधामा विस्तार गरिएको छ। यसले नेपाली विज्ञापन बजारलाई विश्व बजारमा चिनाउन सहयोग गर्नेछ,” उनले भने।
उनले कृति अवार्ड्सले नेपाली विज्ञापन बजारको विस्तारसँगै अर्थतन्त्रलाई समेत चलायमान बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको बताए।पछिल्लो समय नेपाली विज्ञापन बजारमा डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालको प्रयोग तीव्र रूपमा बढिरहेका बेला यस वर्षका नयाँ विधाले डिजिटल सिर्जनशीलतालाई औपचारिक प्रतिस्पर्धाको दायरामा थप विस्तार गरेका छन्।
परम्परागत टेलिभिजन, रेडियो तथा छापा माध्यमसँगै डिजिटल, इभेन्ट्स र एकीकृत अभियानलाई समेत समान रूपमा प्रतिस्पर्धामा ल्याउने तयारीले विज्ञापन उद्योगमा आएको परिवर्तनलाई अवार्डले सम्बोधन गर्न खोजेको देखिन्छ। आयोजकका अनुसार आगामी महिना हुने अवार्ड समारोहमा विभिन्न विधाका उत्कृष्ट विज्ञापन, अभियान, एजेन्सी, सिर्जनाकर्ता तथा ब्रान्डलाई सम्मान गरिनेछ।
















