९ भदौ २०८३, मंगलबार

एनटीसीको आउटबाउन्ड आईभीआर सेवाबाट एकैपटक हजारौँलाई भ्वाइस म्यासेज पठाउन सकिने



काठमाडौं। नेपाल टेलिकमले एकैपटक हजारौँ प्रयोगकर्तालाई बढीमा एक मिनेटसम्मको प्रि-रेकर्डेड व्यावसायिक तथा सूचनामूलक भ्वाइस म्यासेज पठाउन सकिने ‘आउटबाउन्ड आइभीआर’ सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ। संस्थागत र व्यक्तिगत दुवै ग्राहकका लागि उपयोगी मानिएको यो सेवा सामूहिक सूचना प्रवाहका लागि लक्षित गरिएको हो।

परीक्षाको नतिजा, विभिन्न सूचना तथा प्रवर्द्धनात्मक सामग्रीहरू धेरै व्यक्तिमा एकसाथ पुर्‍याउन कार्यालय वा व्यवसायीले कल गर्नुपर्ने नम्बरहरूको सूची र भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराएपछि निश्चित प्रक्रिया पूरा गरी यो सेवा लिन सकिनेछ।

यस प्रणालीमार्फत कल प्राप्त गर्ने ग्राहकको फोनमा सन्देश पठाउने व्यक्तिको नाममा दर्ता रहेको मोबाइल वा टेलिफोन नम्बर नै कलर आइडीको रूपमा देखिने व्यवस्था गरिएको छ।

हाललाई इच्छुक सेवा प्रदायक वा ग्राहकले दूरसञ्चार कार्यालय, सुन्धाराबाट निर्धारित फारम भरेर यो सेवा लिन सक्नेछन्। स्वचालित रूपमा कल गर्न सकिने यस सेवाको माग आगामी दिनमा अझ बढ्ने नेपाल टेलिकमले विश्वास व्यक्त गरेको छ।