१० भदौ २०८३, बुधबार

भोटेकोशी बाढी: रसुवा र नुवाकोटका १५ जलविद्युत् आयोजनामा व्यापक क्षति



काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका १५ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीले दुवै जिल्लाका जलविद्युत् आयोजना, सबस्टेसन, प्रसारण संरचना तथा सौर्य विद्युत् प्लान्टमा व्यापक क्षति पुर्‍याएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले दिएको जानकारी अनुसार रसुवामा सञ्चालनमा रहेका ५ र निर्माणाधीन ३ गरी कुल ८ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

रसुवामा सञ्चालनमा रहेका १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, ५ मेगावाटको मैलुङ खोला, २० मेगावाटको लाङटाङ खोला र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन्। यी पाँच आयोजनाको कुल उत्पादन क्षमता २३६ मेगावाट रहेको छ।

त्यस्तै, रसुवामै निर्माणाधीन अवस्थामा रहेका ३४२ मेगावाट कुल क्षमताका तीन आयोजना- २१६ मेगावाटको माथिल्लो त्रिशूली-१, १२० मेगावाटको रसुवा–भोटेकोशी र ६.४२ मेगावाटको माथिल्लो मैलुङ-ए मा पनि क्षति पुगेको छ।

यसैगरी, नुवाकोटमा सञ्चालनमा रहेका ५ र निर्माणाधीन २ गरी कुल ७ वटा विद्युत् संरचनामा बाढीले असर पुर्‍याएको छ।

नुवाकोटतर्फ सञ्चालनमा रहेका कुल १२३ मेगावाट क्षमताका चार आयोजनाहरू- २४ मेगावाटको त्रिशूली, १४.२ मेगावाटको देवीघाट, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र २५ मेगावाटको सौर्य (सोलार) विद्युत् आयोजना प्रभावित भएका हुन्। त्यस्तै, निर्माणाधीन अवस्थामा रहेका ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ र १५.६ मेगावाटको मिडल त्रिशूली गङ्गा (कुल ५२.६ मेगावाट) मा क्षति पुगेको छ।

बाढीले नुवाकोटस्थित २५ मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनाका तीनवटा ब्लक र सबस्टेसनसमेत बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यसबाट राष्ट्रिय विद्युत् प्रणालीमा सौर्य ऊर्जा उत्पादनसमेत प्रभावित बनेको छ।