बाढीका कारण टिमुरे र त्रिशूलीमा बैंकिङ सेवा प्रभावित, एक दर्जन बैंक शाखामा क्षति (नामसहित)
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा चीनतर्फबाट आएको भीषण बाढीले टिमुरे र त्रिशूली क्षेत्रका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढीको चपेटामा परेका केही शाखामा पूर्ण क्षति भएको छ भने केही कार्यालय आंशिक रूपमा प्रभावित भएका छन्।
टिमुरे बजारमा सञ्चालनमा रहेका नबिल बैंक, ग्लाेवल आईएमई, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, र सानिमा बैंकका शाखा कार्यालयमा बाढीले क्षति पुर्याएको प्रारम्भिक जानकारी छ।
यस्तै, रसुवा र नुवाकोटको सीमाक्षेत्रमा रहेका हिमालयन बैंक तथा एनआईसी एशिया बैंकका शाखा कार्यालयसमेत बाढीबाट प्रभावित भएका छन्।
भोटेकोशीको बाढीको प्रभाव त्रिशूली बजारसम्म समेत पुगेको छ। त्रिशूलीमा रहेका ज्योति विकास बैंक, एनआईसी एशिया बैंक र कृषि विकास बैंकका शाखा कार्यालयमा पनि पूर्ण तथा आंशिक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
यसअघि कृषि विकास बैंकको त्रिशूली शाखा बाढीबाट क्षतिग्रस्त बनेको जानकारी आएको थियो। बाढीको तीव्र बहावले बैंकका कार्यालय तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि बैंकिङ सेवा प्रभावित हुने अवस्था सिर्जना भएको छ।
बाढीका कारण कुन बैंकको शाखामा कति मानवीय तथा भौतिक क्षति भयो भन्ने यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन। प्रभावित शाखाका कर्मचारी तथा सम्बन्धित बैंकका कार्यालयसँग सम्पर्क गरी क्षतिको अवस्था बुझ्ने प्रयास भइरहेको सम्बन्धित बैंकहरूले जनाएका छन्।
















