भोटेकोशीको बाढीले पुर्याएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त, उद्धार र पुनःस्थापनामा सहकार्य गर्ने
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा पुर्याएको जनधन तथा भौतिक संरचनाको क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गहिरो दुःख व्यक्त गरेको छ।
बाढीका कारण ती क्षेत्रमा सडक, पुल, विद्युत् तथा सञ्चारका संरचना, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना तथा सरकारी र सुरक्षा निकायका भवनमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको संघले जनाएको छ। बाढीको प्रभाव इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीसम्म पुगेको बताइएको छ।
घटनाबाट भएको क्षतिको विस्तृत विवरण अझै प्राप्त हुन बाँकी रहेकाले वास्तविक क्षतिको परिमाण तत्काल यकिन गर्न कठिन रहेको संघले जनाएको छ। प्रारम्भिक अवस्थाले भने मानवीय, भौतिक तथा आर्थिक क्षति अझै बढ्न सक्ने देखिएको भन्दै संघले चिन्ता व्यक्त गरेको छ।
बाढीबाट प्रभावित नागरिक, परिवार, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय समुदायप्रति संघले सहानुभूति प्रकट गरेको छ। साथै, विपद्को समयमा खोजी, उद्धार तथा राहतमा निरन्तर खटिरहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन तथा अन्य उद्धारकर्मीप्रति संघले सम्मान व्यक्त गरेको छ।
भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीको जोखिम अझै रहन सक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन संघले आग्रह गरेको छ।
नदी तथा खोलाको किनार र जोखिमयुक्त स्थानमा नबस्न, सम्भव भएसम्म सुरक्षित स्थानमा जान तथा सम्बन्धित निकायबाट जारी गरिएका सुरक्षा सूचना र निर्देशनको पालना गर्नसमेत संघले सर्वसाधारणलाई अनुरोध गरेको छ।
विपद्को यस कठिन समयमा प्रभावित समुदायको साथमा रहेको जनाउँदै संघले उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सम्बन्धित सरकारी निकाय तथा सुरक्षा संयन्त्रसँग आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको जनाएको छ।
















