१० भदौ २०८३, बुधबार

भोटेकोशी बाढीको धक्का सेयर बजारमा: नेप्सेमा ३५.९२ अंककाे पहिराे, हाइड्रो र निर्जीवन बीमा समूहमा उच्च गिरावट



काठमाडौं । नेपाली सेयर बजारमा बुधबार भारी गिरावट आएको छ। आज नेप्से परिसूचक ३५.९२ अंक घट्दै २५ सय ५८ दशमलव ३५ विन्दुमा झरेको हो। बुधबार बजारमा १ करोड ३५ लाख ८२ हजार कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ पुगेको छ।

बुधबार बिहान रसुवाको भोटेकोशीमा एकाएक आएको बाढीले जलविद्युत आयोजनामा ठुलो क्षति पुर्‍याएपछि त्यसको असर सेयर बजारमा देखिएको हो।

निर्जीवन बीमा कम्पनी र बाढीले क्षति पुर्‍याएका जलविद्युत आयोजनाको सेयर मूल्यमा उच्च गिरावट आएको छ। आज निर्जीवन बीमा समुहकाे उपसूचक ३.९० र जलविद्युत समुहकाे उपसूचक २.८४ प्रतिशतले घटेकाे छ। यस्तै जिवन बीमा १.५२, अन्य १.४६, लगानी १.२८ र फाइनान्स १.१० प्रतिशत घटेकाे छ।

नेप्से घटे पनि यसदिन काराेबार भने बढेकाे छ। आज ३४८ कम्पनिकाे १ कराेड ३५ लाख ८२ हजार ३२० कित्ता सेयर ४ अर्ब ७७ कराेड ३८ लाख ५७ हजार रूपैयाँमा किनबेच भएकाे छ।

हिजाे ३५७ कम्पनिकाे १ कराेड ४४ हजार १६४ कित्ता सेयर ४ अर्ब १० कराेड ९७ लाख ५१ हजार ७३० रूपैयाँमा किनबेच भएकाे थियाे।

कारोबार भएका कम्पनीमध्ये २५२ वटाको सेयर मूल्य घटेको छ भने २३ कम्पनीको मूल्यमा वृद्धि भएको छ। तीन कम्पनीको सेयर मूल्य भने अघिल्लो दिनकै स्तरमा कायम रह्यो।

आज सर्वाधिक बाढीले क्षति पुर्‍याएका रसुवागढी हाइड्रो पावरको सेयर मूल्य १५ प्रतिशितले घटेको छ। मैलुङखोला जलविद्ययुत कम्पनीको सेयर मूल्य १४.९९, त्रिशुली जलविद्युत कम्पनी १२.९५, माथिल्लो मैलुङखोला जलविद्युत आयोजना ११.५६, सान्जेन जलविद्युत कम्पनी ११.१८, चीलिमे हाइड्रोपावर कम्पनी १०.१२ प्रतिशत र सयपत्री हाइड्राेपावर काे सेयर मूल्य १० प्रतिशतले घटेको छ।

बढ्ने कम्पनीतर्फ सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले उकालो लागेको छ। त्यस्तै, अपर हेवा खोला हाइड्रोपावर १०.४३ प्रतिशत, एभरेस्ट बैंक डिबेन्चर ६.०८ प्रतिशत, नबिल डिबेन्चर ५.६२ प्रतिशत र मेगा म्युचुअल फन्डको मूल्य ४.२५ प्रतिशतले बढेको छ।