१० भदौ २०८३, बुधबार

भोटेकोशी बाढी: १६ जनाको शव भेटियाे,  ३५ जना घाइतेकाे उद्धार



काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको आकस्मिक बाढीका कारण १६ जनाको मृत्यु भएको छ भने ३५ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।

बाग्मती प्रदेश प्रहरी कार्यालयले दिएको अध्यावधिक विवरण अनुसार बाढीमा ज्यान गुमाउने १६ जनाकाे शव फेला परेकाे हाे भने ३५ जनाको घाइतेकाे उद्दार गरी उपचारका लागि विभिन्न स्थानमा पुर्याइउकाे छ।

प्रहरीको तथ्याङ्क अनुसार बाढीबाट सबैभन्दा बढी मानवीय क्षति नुवाकोटमा भएको छ। नुवाकोटमा ४ महिला र ५ पुरुष गरी कुल ९ जनाको मृत्यु भएको छ। यस्तै धादिङमा ३ महिला, २ पुरुष र पहिचान नखुलेका १ जना गरी ६ जनाको ज्यान गएको छ भने रसुवामा १ जना पुरुषको मृत्यु भएको पुष्टि भएको छ। मृतक कुल १६ जनामध्ये ७ महिला, ८ पुरुष र १ जनाको पहिचान खुल्न बाँकी रहेको छ।

यसैगरी, सुरक्षाकर्मीको टोलीले प्रभावित क्षेत्रहरूबाट ३५ जनालाई घाइते अवस्थामा सफल उद्धार गरेको छ। घाइते अवस्थामा उद्धार गरिएकाहरूमा रसुवाका १३ जना, नुवाकोटका १९ जना र धादिङका १ महिला र २ पुरुष गरी ३ जना रहेका छन्।

उद्धार गरिएकामध्ये रसुवाका ५ जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने ७ जनाको धुन्चेमा उपचार भइरहेको छ। धुन्चेमा उपचाररत घाइतेहरूमध्ये उद्धार कार्यमा खटिएका १ जना प्रहरी जवानसमेत सामान्य घाइते रहेका छन्।

प्रकोप प्रभावित क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी तथा उद्धार कार्य निरन्तर जारी राखिएको छ।