११ भदौ २०८३, बिहिबार

रसुवा बाढी: नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ७ जना कर्मचारी अझै सम्पर्कविहीन



काठमाडाैं । रसुवा जिल्लाको टिमुरे क्षेत्रमा आएको भिषण बाढीका कारण नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका विभिन्न शाखामा कार्यरत ७ जना कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन्।

बैंकले सूचना जारी गर्दै आफ्ना हराइरहेका कर्मचारीहरूको खोजी र पहिचानका लागि सर्वसाधारण तथा सम्बन्धित निकायसँग सहयोगको अपिल गरेको छ।

भादाै १० गते बिहान करिब ८:४० बजे रसुवाको टिमुरे आसपासका क्षेत्रमा अचानक विशाल बाढी आएको र उक्त प्राकृतिक विपद्पछि बैंकको टिमुरे शाखा, स्याफ्रुवेशी शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टरमा कार्यरत कर्मचारीहरूसँग सम्पर्क विच्छेद भएको बैंकले जनाएको छ।

सम्पर्कविहीन हुने कर्मचारीहरूमा स्याफ्रुवेशी शाखा: शिव प्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीम बहादुर खड्का रहेका छन्। यस्तै टिमुरे शाखाकी  डोल्मा लामा, लुङ एक्सटेन्सन काउन्टरका मुकेश खड्का रहेका छन् ।

घटनापछि ती कर्मचारीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। बैंक प्रशासनले यदि कसैले उहाँहरूलाई देखेमा, भेटेमा वा उहाँहरूको अवस्थाबारे कुनै जानकारी पाएमा यथाशीघ्र बैंकमा सम्पर्क गरिदिन अनुरोध गरेको छ।

खोजी र उद्धार कार्यमा सघाउनका लागि बैंकले सम्पर्क नम्बरहरू ९८५१०२८४५४ र ९८५१०३३०५३ जारी गर्दै खबर गरिदिन आग्रह गरेको छ।