११ भदौ २०८३, बिहिबार

चार जिल्लामा अवरुद्ध सञ्चार सम्पर्क जोड्न नेपाल टेलिकमको युद्धस्तरमा मर्मत कार्य, साढे ६ दर्जन साइट अझै बन्द



बाढीपहिरोले चार जिल्लामा ठप्प दूरसञ्चार सेवा पुनर्स्थापना गर्न नेपाल टेलिकमले दुर्गम क्षेत्रमा हेलिकोप्टरबाट जेनेरेटर र उपकरण ढुवानी गरेको छ।

काठमाडाैँ । गएको भदौ १० गते गएको विनाशकारी बाढीपहिरोका कारण मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुगेसँगै प्रभावित बनेका देशका चारवटा प्रमुख जिल्लाहरूमा दूरसञ्चार सेवा सुचारु गर्ने काम तीव्र पारिएको छ।

प्राकृतिक प्रकोपका कारण रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लामा अवरुद्ध बनेका टेलिफोन तथा इन्टरनेट सेवाहरू पुनः सञ्चालनमा ल्याउन नेपाल टेलिकमले युद्धस्तरमा मर्मतसम्भार र प्राविधिक परिचालन जारी राखेको छ। विपद्को यस कठिन घड़ीमा नागरिकहरूको सञ्चार आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्दै टेलिकमले प्राविधिक टोली र उपकरणहरूलाई प्रभावित क्षेत्रमा खटाएको हो।

बाढीपहिरोका कारण सडक मार्ग पूर्णरूपमा अवरुद्ध भएपछि रसुवा जिल्लाका विभिन्न स्थानमा सञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले विशेष प्रयास गरेको छ। टेलिकमले न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकोप्टरबाटै जेनेरेटर, ब्याट्री लगायतका अत्यावश्यक उपकरणहरू ढुवानी गरेको छ।

सोही उपकरणहरूको सहायताले न्यौपानेचौर तथा राम्चे आसपासका केस्पाङको काउले, ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडादेखि लाङटाङ र क्याङ्जिनसम्मका क्षेत्रहरूमा अहिले दूरसञ्चार सेवा सफलतापूर्वक सुचारू गरिएको छ। यसैगरी, जिल्लाको मुख्य व्यापारिक केन्द्र धुन्चेमा पनि सेवा नियमित गर्न जेनेरेटर, इन्धन र प्राविधिक कर्मचारीहरू परिचालन गरिएको छ।

नुवाकोट र धादिङ जिल्लाका प्रभावित क्षेत्रहरूमा पनि अवरुद्ध सेवा सुचारु गर्ने क्रम अन्तिम चरणमा पुगेको छ। नुवाकोटको मदनपुर, बट्टार र विदुर बसपार्क तथा धादिङको बैरेनीस्थित ठमेल डाँडामा जेनेरेटर र इन्धनसहित खटिएका कर्मचारीहरूले सेवालाई निरन्तरता दिने गरी काम गरिरहेका छन्।

प्रभावित क्षेत्रका मुख्य प्राथमिकता प्राप्त साइटहरूलाई अनवरत रूपमा सञ्चालनमा ल्याउन टेलिकमले साधन र स्रोतको पूर्ण प्रयोग गरेको छ। यसबाहेक, हाल सञ्चालनमा रहेका ती जिल्लाका अन्य बीटीएस (बेस स्टेसन) हरूमा कभरेज र क्षमता अभिवृद्धि गरी सेवालाई थप प्रभावकारी बनाउने कार्य समेत भइरहेको छ।

अझै सञ्चालनमा आउन बाँकी साइट

प्राकृतिक विपद्का कारण क्षति पुगेका समग्र साइटहरूको अवस्था हेर्दा अझै केही स्थानमा मर्मत कार्य जारी रहेको छ। उपलब्ध तथ्यांक अनुसार चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ वटा साइटहरूमा मर्मत कार्य भइरहेको छ।

यसरी समग्रमा प्रभावित देखिएका १५२ वटा साइटहरूमध्ये हालसम्म ६० वटा साइटहरू पूर्णरूपमा सञ्चालनमा आउन बाँकी छन्। नेपाल टेलिकमले बाँकी रहेका ती साइटहरूलाई पनि छिट्टै सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक टोली परिचालन गरी निरन्तर काम भइरहेको जनाएको छ।

विपद्को यस विषम परिस्थितिमा नागरिकहरूको सञ्चार सहजतालाई कम्पनीले सबैभन्दा माथि राखेको छ। सेवाको निरन्तरता, पूर्वसूचना, जनचेतना र आकस्मिक प्राविधिक कार्यलाई उच्च प्राथमिकता दिइएको नेपाल टेलिकमको भनाइ छ।

यस प्रयासबाट टाढा रहेका सेवाग्राहीहरूले आफ्ना आफन्तजनसँग तत्काल सञ्चार सम्पर्क कायम गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। विपद्ले निम्त्याएको सञ्चार वञ्चिततालाई चिर्दै टेलिकमले यस कार्यलाई मानवीय उत्तरदायित्वको रूपमा सम्पादन गरिरहेको छ।