बाढीका कारण भएको क्षतिबाट महासंघ मर्माहत, उद्धारमा सक्रिय हुन अपिल
काठमाडौं। चीनको तिब्बत तर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन लगायतका जिल्लाहरूमा भएको अकल्पनीय मानवीय एवं भौतिक क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दु:ख व्यक्त गरेको छ ।
महासंघका अध्यक्ष निकोलस पाण्डेले बिहिवार एक विशेष अपील जारी गर्दै मुलुकको इतिहासकै यो त्रासदीपूर्ण घटनामा परी निधन हुनु भएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते अवस्थामा भेटिनु भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।
यस भयानक प्राकृतिक विपत्तिमा परी घाइते भएकाहरूको उद्धार कार्य तथा स्वास्थ्य उपचारलाई थप चुस्त दुरुस्त बनाउन नेपाल सरकारका सबै निकायहरूले गरिरहेको प्रयासमा जस्तोसुकै सहयोग गर्न महासंघ पनि इच्छुक रहेको अपीलमा उल्लेख छ ।
महासंघको तर्फबाट बाढी पीडितहरूको सहयोगार्थ निर्माण व्यवसायी कोष मार्फत छिट्टै राहत घोषणा गरिने महासंघले जनाएको छ । अहिलेको अत्यन्त विषम परिस्थितिमा शोकलाई शक्तिमा बदली विशेष सावधानी अपनाउँदै संयमता र धैर्यता सहित आपसी साथ सहयोगमा जुट्न र सम्भव भएसम्म विपत प्रभावित निर्माण श्रमिक, मजदुर लगायत अन्य सबैको खोज उद्धारमा आ—आफ्ना यन्त्र उपकरणहरू सहित क्रियाशील रहन तमाम निर्माण व्यवसायीहरूलाई महासंघले विशेष अपील गरेको छ ।
महाविपत्तिमा परेका हजारौ नागरिक प्रतिको सच्चा सम्मान र राष्ट्रिय एकताको वास्तविक परिचयका लागि समेत उद्धार तथा राहत कार्यलाई तीव्रता दिन महासंघका अध्यक्ष पाण्डेले सबै राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थासहित आम नागरिकलाई अनुरोध गरेका छन्।














