बाढी प्रभावितको उद्धार र राहतमा सघाउने एलपी ग्यास उद्योग संघको प्रतिबद्धता, ग्यास आपूर्ति सहज बनाउन आग्रह
काठमाडौँ । एलपी ग्यास उद्योग संघ नेपालले बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनरुत्थानमा सरकार र सुरक्षा निकायको प्रयासमा हातेमालो गर्दै आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ।
संघले प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि र खानेपानीजस्ता अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न राज्यका संयन्त्रहरूसँग मिलेर काम गर्ने जनाएको छ।
साथै, विपद्को यस कठिन घडीमा सहयोगका लागि सम्पूर्ण उद्योगी, व्यवसायी र आम नागरिकहरूलाई समेत आह्वान गरिएको छ।
भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँ लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाप्रति संघले गहिरो दुःख व्यक्त गरेको छ। अचानक आएको भीषण बाढीका कारण धेरै नागरिकको ज्यान गएको, कैयौँ बेपत्ता र घाइते भएको तथा घरबस्ती, उद्योग, सडक, पुल र जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको खबरले स्तब्ध बनाएको संघले जनाएको छ।
दुःखद घडीमा बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
यसैबिच, प्रभावित क्षेत्रमा एल.पी. ग्यास जस्तो अत्यावश्यक इन्धनको आपूर्ति र वितरणमा कुनै बाधा उत्पन्न हुन नदिन सम्बन्धित उद्योगी, व्यवसायी तथा विक्रेताहरूलाई आवश्यक समन्वय र सहकार्य गर्न संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले आग्रह गरेका छन् ।














