११ भदौ २०८३, बिहिबार

विपद् प्रभावित क्षेत्रमा सेवा निरन्तरता र पुनर्स्थापनाका लागि वित्तीय क्षेत्र प्रतिबद्ध



काठमाडौँ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा वित्तीय सेवाको निरन्तरता, राहत र पुनर्स्थापनाका लागि नेपाल वित्तीय संस्था संघले सरकारसँग सहकार्य र आवश्यक सहजीकरण गर्ने घोषणा गरेको छ। सरकारले अघि बढाएको राहत, उद्धार तथा पुनर्निर्माण अभियानमा काँधमा काँध मिलाएर पूर्ण सहयोग गर्न वित्तीय क्षेत्र तयार रहेको संघले जनाएको छ।

बाढीका कारण प्रभावित जिल्लाहरूमा विद्युत्, इन्टरनेट र सञ्चार प्रणालीमा समस्या आउँदा वित्तीय सेवा प्रवाहमा जटिलता थपिएकाले संघले वैकल्पिक उपाय र उपलब्ध साधन-स्रोतको अधिकतम प्रयोग गरी सेवा सुचारु राख्न सदस्य संस्थाहरूलाई परिचालन गरेको छ।

हाल उत्पन्न संकटको स्थितिमा प्रभावित ग्राहकहरूलाई राहत पुर्‍याउनुका साथै नेपाल सरकार, नेपाल राष्ट्र बैंक र अन्य सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गरी काम भइरहेको संघले जनाएको छ।

यसैबिच, रसुवा लगायत देशका विभिन्न भागमा बाढी र प्राकृतिक विपत्तिबाट भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति संघले दुःख व्यक्त गरेको छ। विपद्‌मा ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले पीडित परिवारजनमा समवेदना प्रकट गरेको छ।