१२ भदौ २०८३, शुक्रबार

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै



काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले आजका दिन बिहानै नदी, ताल, पोखरी तथा अन्य जलाशयमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको रक्षासूत्र बाँध्नुका साथै नयाँ यज्ञोपवीत धारण गर्ने परम्परा छ।

रक्षासूत्रलाई धार्मिक रूपमा नकारात्मक प्रभावबाट जोगाउने र सुरक्षा प्रदान गर्ने प्रतीकका रूपमा लिइन्छ। रक्षाबन्धनसँग जोडिएको धार्मिक मान्यताअनुसार देवता र दानवबीचको संघर्षका क्रममा गुरु बृहस्पतिले देवगणको रक्षाका लागि मन्त्रसहित डोरो बाँधिदिएको कथन पाइन्छ। यही परम्परालाई निरन्तरता दिँदै आज पनि पुरोहितले वैदिक मन्त्र उच्चारण गरेर यजमानको दाहिने नाडीमा रक्षासूत्र बाँध्ने चलन रहिआएको छ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीन वटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।

यस किसिमको महत्व भएकाले नै आज बिहानै यजमान आफ्ना गुरु पुरोहित कहाँ गई यज्ञोपवीत मन्त्रने गर्दछन्। आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनुका साथै फेर्नलाई समेत उपयोग गरिन्छ । कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा आजकै दिन मन्त्रिएको यज्ञोपवीत फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ ।

जनैपूर्णिमाका दिन ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीले पुरानो जनै फेरेर नयाँ यज्ञोपवीत धारण गर्ने धार्मिक विधान छ। यसअघि विधिपूर्वक स्नान तथा शुद्धीकरण गरिन्छ र त्यसपछि जौ, तिल तथा कुश प्रयोग गरी ऋषिहरूलाई तर्पण दिइन्छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यलगायत ऋषिको पूजा तथा तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीसमेत भनिन्छ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए। त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।

रक्षा बन्धन तथा जनैपुर्णिमाको अवसरमा आज देशभर सार्वजनिक विदा रहेको छ।