चीनतर्फ ताल फुटेपछि त्रिशूली किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह, सुरक्षाकर्मी हाई अलर्टमा
काठमाडाैँ । तिब्बतमा थुनिएको ताल फुटेपछि नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । चीनतर्फका नदीहरूमा पानीको बहाव अचानक बढेपछि सुरक्षा निकायले तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ रहन सार्वजनिक रूपमा आग्रह गरेका छन् ।
चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगमस्थल नजिकै रहेको उक्त विशाल ताल अचानक फुटेको चिनियाँ अधिकारीहरूले पुष्टि गरेका छन् । यी नदीहरू नेपालको प्रमुख नदी प्रणालीमध्ये एक त्रिशूली नदीका माथिल्ला सहायक नदीहरू हुन् । ताल फुटेसँगै बग्ने पानी र गेग्रानले नेपालको रसुवा लगायतका तटीय क्षेत्रमा असर पार्न सक्ने भएपछि स्थानीय प्रशासनले आपतकालीन तयारी तीव्र पारेको छ ।
घटनालगत्तै नेपाल प्रहरीले विशेष सूचना जारी गर्दै नदी किनारका बस्तीहरूमा जोमिख बढेको भन्दै सतर्कता अपनाउन निर्देशन दिएको छ । उद्धार कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई पनि सम्भावित जोखिमको आकलन गर्दै उच्च तयारी अवस्थामा राखिएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट आएको आपतकालीन सूचनाका आधारमा तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सर्कुलर जारी भइसकेको बताए । उनले भने, चिनियाँ अधिकारीहरूले ताल फुटेको र बाढीको जोखिम रहेको जानकारी गराएपछि हामीले स्थानीय प्रशासन र सुरक्षा संयन्त्रलाई पूर्ण सतर्क अवस्थामा राखेका छौँ ।
नदी किनारका बासिन्दालाई सुरक्षित हुन भनिएको छ ।
चीनतर्फको भौगोलिक बनावट र सहायक नदीहरूको फैलावट अनुसार यस क्षेत्रमा बाढीको बहाव छिट्टै तल आइपुग्ने जोखिम हुन्छ । नेपाली भूभागका नदीहरूमा पानीको सतह बढ्न सक्ने भएकाले जलविद्युत आयोजना, नदी किनारमा गरिने गतिविधि र बस्तीहरूलाई विशेष निगरानीमा राखिएको छ । प्रशासनले नदीको सतह सामान्य नभएसम्म तटीय क्षेत्रमा आवतजावत नगर्न समेत अनुरोध गरेको छ ।
















