१२ भदौ २०८३, शुक्रबार

सञ्चार सम्पर्क विच्छेद भएका रसुवा, नुवाकोट र धादिङमा फर्कियो एनसेलको नेटवर्क



काठमाडाैँ । तिब्बतबाट भित्रिएकाे विध्वंशकारी बाढी र अविरल वर्षाका कारण आएको अन्यत्रकाे बाढी तथा पहिराले सञ्चार सम्पर्क विच्छेद गराएका रसुवा, नुवाकोट र धादिङमा एनसेलले दूरसञ्चार सेवा सुचारु गरेको छ।

विपद्का कारण अबरुद्ध बनेका यस क्षेत्रका टावरहरूलाई कम्पनीको प्राविधिक टोलीले निरन्तरको प्रयासपछि पुनः सञ्चालनमा ल्याएको हो। यससँगै प्रभावित क्षेत्रका नागरिकले परिवारसँग सम्पर्क गर्न र उद्धार कार्यमा समन्वय गर्न सहज बन्नेछ।

बाढीपहिरोले करिब ७० देखि ८० किलोमिटर क्षेत्रको फाइबर लिंकमा क्षति पुर्‍याउँदा यस क्षेत्रका कुल २७ वटा मोबाइल टावर पूर्ण रूपमा प्रभावित बनेका थिए। सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तहमा भइरहेको उद्धार तथा राहत वितरणको काम प्रभावित बनेको थियो।

अवस्थाको गम्भीरतालाई मध्यनजर गर्दै एनसेलले आफ्ना प्राविधिक टोलीलाई स्थल र हवाई दुवै मार्गबाट प्रभावित क्षेत्रमा परिचालन गरेको थियो।

सम्भव भएका स्थानमा बिग्रिएका फाइबर मर्मत गरिएका छन् भने अन्य केही क्षेत्रमा पुराना माइक्रोवेभ लिंकको प्रयोग गरेर नेटवर्क सुचारु गरिएको छ। त्यस्तै, केही स्थानमा फाइबर कनेक्टिभिटी जोड्नका लागि अन्य इन्टरनेट सेवा प्रदायकहरूसँग समेत समन्वय गरिएको छ।

सरकारी निकायहरूको सहयोग र सुरक्षाकर्मीको समन्वयमा प्राविधिक टोलीले जोखिम मोलेरै नेटवर्क मर्मत गरेको हो। यस प्रयासस्वरूप रसुवामा ३, नुवाकोटमा ८ र धादिङमा ३ गरी कुल १४ वटा साइटहरू आजै सञ्चालनमा आएका छन्।

गल्छीमा काटिएको फाइबर तत्काल मर्मत

पुनःस्थापनाको काम चलिरहेकै बेला दिउँसो धादिङको गल्छी क्षेत्रमा बाढीको भग्नावशेष हटाउने क्रममा फाइबर काटिँदा थप १८ वटा साइटहरू अचानक प्रभावित भएका थिए।

तर, फिल्डमा खटिएको प्राविधिक टोलीले तत्काल सक्रियता देखाउँदै ती थपिएका १८ वटै साइटहरूमा समेत केही समयमै सेवा सुचारु गराएको छ। विषम परिस्थितिका बाबजुद पनि कम्पनीले सेवा अवरुद्ध हुन नदिन अपनाएको यो तत्परताले उद्धार कार्यमा ठूलो सहयोग पुगेको छ।

विपद्को यस कठिन घडीमा सञ्चार सेवा सुचारु राख्न स्थानीय प्रशासन, सुरक्षा निकाय र नियमनकारी संस्थाको भूमिका महत्त्वपूर्ण रहेको कम्पनीले जनाएको छ।

नेटवर्क मर्मत तथा पुनःस्थापनाका लागि सुरुदेखिनै सहयोग पुर्‍याउने नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र नेपाली सेनाप्रति एनसेलले धन्यवाद ज्ञापन गरेको छ। साथै, प्राविधिक सहयोग उपलब्ध गराउने ह्वावे र जेटीई जस्ता साझेदार संस्थाहरूको योगदानको पनि कम्पनीले प्रशंसा गरेको छ।

प्राकृतिक विपत्तिले निम्त्याएका यस्ता अवरोधका बीच प्रभावित समुदायको साथमा उभिन कम्पनी सदैव प्रतिबद्ध रहेको छ। नागरिकलाई आफ्ना आफन्तसँग सम्पर्कमा राख्न र राहत वितरणलाई प्रभावकारी बनाउन एनसेलले आफ्ना सम्पूर्ण प्राविधिक स्रोतसाधन र जनशक्तिलाई उच्च प्राथमिकताका साथ परिचालन गरिरहेको छ।