‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने
काठमाडौं । नाडा अटो शो २०२६ को आज चौथो दिन हो । भदौ ९ गतेबाट सुरु भएको अटो शो काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ ।
भदौ १० गते अप्रत्याशित रुपमा भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षेती पुग्यो । यसबाट अटोमोबाइल्स क्षेत्रपनि निकै प्रताडित बन्न पुग्यो । यद्यपि, आर्थिक गतिविधि चलायमान बनाउन ब्यवसायीहरुले कठिन समयमा पनि अटो शोलाई निरन्तरता दिए ।
रसुवागढी–केरुङ नाका जोड्ने सडक बाढीका कारण क्षतिग्रस्त भएपछि चीनबाट नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) को आपूर्ति प्रभावित हुने चिन्ता गाडी बुकिङ गर्नेहरुमा देखिएको छ । तर, ब्यवसायीहरु चाडपर्व आउन समय बाँकी रहेको कारण गाडी ल्याएर दिन सक्ने कुरामा ढुक्क देखिन्छन् ।
व्यवसायीहरूले नाडा अटो शोमा बुकिङ भएका सवारीसाधनलाई वैकल्पिक नाका र मार्ग प्रयोग गरेर नेपालीहरूको प्रमुख चाड दशैं तथा तिहारसम्म ग्राहकलाई उपलब्ध गराउने बताए ।
भन्सार नाकादेखि बाटोसम्म बगेको कारण केरुङ हुँदै चीनबाट आयात हुने सवारीसाधनको आपूर्ति ठप्प भएको छ। त्यसैले बैकल्पीक रुपमा तातोपानी र कोरोला नाका प्रयोग गरेर गाडी ल्याउने तयारीमा ब्यवसायीहरु जुटिसकेका छन् । त्यसैले नाडा अटो शोमा बुकिङ भएका गाडीको डेलिभरीमा ठूलो समस्या नआउने व्यवसायीहरूको दाबी छ ।
अहिले बजारको सबैभन्दा ठूलो कार ब्राण्ड बीवाइडीले कोरोला नाका हुँदै गाडी ल्याउने छ । कम्पनीले अघिल्लो वर्षपनि कोरोला नाकाबाटै गाडीहरु ल्याएको थियो । बीवाइडीका ठूलो संख्यामा गाडी बाढीले बगाएको अबस्था भएपनि थप गाडी कोरोला नाकाबाट ल्याउने छ ।
साइमेक्स इंकले पहिले नै सबै भन्सार बिन्दु प्रयोग गरेको कारण कुनै एउटा नाकामा समस्या हुँदा सप्लाईमा ठूलो असर नपर्ने कम्पनीका म्यानेजर आशिष शाक्यले बताए।
















