१२ भदौ २०८३, शुक्रबार

भोटेकोशीमा फेरि लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह



काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पानीको बहाव पुनः बढ्न थालेपछि बाढीको जोखिम देखिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी आसपासका बासिन्दा तथा खोज, उद्धार र राहत कार्यमा संलग्न टोलीलाई सावधानी अपनाउन आग्रह गरेको हो।

प्राधिकरणका अनुसार भदौ १० गते ठूलो बाढी आएको भोटेकोशी क्षेत्रमा शुक्रबार लेदोसहित पानीको बहाव बढेको जानकारी प्राप्त भएको छ। बहाव थप बढ्न सक्ने र त्यसबाट पुनः बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्क रहन प्राधिकरणले अनुरोध गरेको हो।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव शान्ति महतले शुक्रबार जारी गरेको सूचनामा जोखिमको अवस्थालाई ध्यानमा राख्दै आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरिएको छ।

विशेषगरी भोटेकोशी र त्रिशूली नदी किनारमा खोज तथा उद्धार एवं राहत वितरणमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य व्यक्तिलाई थप सावधानी अपनाउन भनिएको छ। साथै, जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई पनि सतर्क रहन आग्रह गरिएको छ।

प्राधिकरणले नदीको पानीको सतह वा बहावमा देखिने कुनै पनि परिवर्तनलाई गम्भीर रूपमा लिन भनेको छ। जोखिम बढेको महसुस भएमा ढिलाइ नगरी सुरक्षित स्थानमा जान र नदी किनारलगायत जोखिमयुक्त स्थानमा अनावश्यक रूपमा नबस्न अनुरोध गरिएको छ।

भदौ १० गते आएको बाढीपछि भोटेकोशी र त्रिशूली आसपासमा खोजी, उद्धार तथा राहतका काम जारी रहेका बेला पानीको बहाव पुनः बढेको सूचना आएपछि प्राधिकरणले सुरक्षा सतर्कता थप बढाउन आग्रह गरेको हो।