१२ भदौ २०८३, शुक्रबार

कैलाश मानसरोवरबाट फर्किने विदेशीलाई हिल्सा नाका प्रयोग गर्न आग्रह, दस्तुर तिर्नु नपर्ने



काठमाडौं । रसुवागढी नाका बाढीका कारण प्रभावित भएपछि अध्यागमन विभागले कैलाश मानसरोवर तीर्थयात्राबाट नेपाल फर्किने विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाका प्रयोग गर्न आग्रह गरेको छ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले चीनतर्फ जाने सडक, पुललगायतका संरचनामा क्षति पुर्‍याएपछि रसुवागढी हुँदै नेपाल फर्किन कठिन भएको हो। यस्तो अवस्थामा तीर्थयात्रीलाई वैकल्पिक मार्ग उपलब्ध गराउन हिल्सा नाकाबाट नेपाल प्रवेश गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ।

सामान्य अवस्थामा अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ बमोजिम हिल्सा हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकले निषेधित क्षेत्रमा पदयात्रा गर्दा तोकिएको दस्तुर बुझाउनुपर्ने हुन्छ। तर, हालको असामान्य परिस्थितिलाई ध्यानमा राख्दै कैलाश मानसरोवरबाट फर्किने तीर्थयात्रीका लागि उक्त दस्तुरमा छुट दिने निर्णय गरिएको छ।

विभागका अनुसार भदौ ११ गतेदेखि लागू हुने गरी एक सातासम्म रसुवास्थित अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति लिएर कैलाश मानसरोवर गएका विदेशी नागरिकले हिल्सा नाका हुँदै नेपाल प्रवेश गर्दा निषेधित क्षेत्रको पदयात्रा दस्तुर तिर्नुपर्ने छैन।

यसैगरी, सो अवधिमा हिल्सा क्षेत्रमा पदयात्रा अनुमति लिन आवश्यक पर्ने विदेशी नागरिक तथा ट्रेकिङ गाइडको बीमा र गाइडसम्बन्धी केही अनिवार्य प्रावधानसमेत लागू नहुने व्यवस्था गरिएको छ।

बाढीका कारण रसुवागढी नाका अवरुद्ध हुँदा कैलाश मानसरोवरबाट फर्किने तीर्थयात्री बाटोमै अलपत्र पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूको सुरक्षित र सहज नेपाल फिर्तीका लागि अस्थायी रूपमा यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ।