१३ भदौ २०८३, शनिबार

लुम्बिनी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग



काठमाडौँ। लुम्बिनी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत हालै देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पच्चिस लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकका अध्यक्ष चिन्तामणी भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र नायब प्रमुख कार्यकारी उमेश रेग्मीले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेललाई भदौ १२ गते रु. २५ लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

प्राकृतिक विपद्का कारण विभिन्न स्थानमा जनधनको ठूलो क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएको यस कठिन परिस्थितिप्रति बैंकले दुःख व्यक्त गरेको छ। यस विपत्तिमा जीवन गुमाउनुभएका सम्पूर्णप्रति बैंकले हार्दिक श्रद्धाञ्जली अर्पण पनि गरेको छ।

शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहयोग र सामाजिक उत्तरदायित्वका कार्यहरूमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) स्थापना भएको छ। लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।