विपद्का बेला छिमेकीको साथ : भारत र चीनद्धारा राहत सामग्रीसहित उद्धार टोली परिचालन
काठमाडौं। विपद्का समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि छिमेकी मुलुकहरुले महत्वपूर्ण भूमिका खेलेका छन्। नेपालमा बाढीका कारण ठूलो धनजनको क्षति भएपछि चीन र भारतले नेपाललाई उल्लेखनीय सहयोग गरेका हुन् ।
बाढीपहिरोबाट प्रभावित नेपालका क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई सहयोग पुर्याउन भारतले थप सहायता पठाएको छ। भारतले राहत सामग्रीसँगै उद्धार र विपद् व्यवस्थापनमा आवश्यक प्राविधिक टोली तथा उपकरण नेपाल पठाएको हो।
भारतबाट चौथो चरणको सहायता नेपाल आइपुग्यो
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार करिब ११ टन राहत सामग्री बोकेको चौथो विमान प्राविधिक टोलीसहित नेपालका लागि उडेको छ। उनले नेपालमा जारी राहत तथा उद्धार अभियानमा भारतको सहयोग निरन्तर रहने बताएका छन्।
भारतीय वायुसेनाको सी–१३० विमानबाट खोजी तथा उद्धारमा प्रयोग हुने उपकरणसहित सुरुङ प्राविधिक टोली पनि काठमाडौं आइपुगेको भारतीय दूतावासले जनाएको छ।
त्यसैगरी, बेपत्ता तथा मृतकको पहिचानमा सहयोग पुर्याउने उद्देश्यले डीएनए परीक्षणका लागि आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोलीसमेत नेपाल आएको छ।
भारतबाट आएको पछिल्लो राहत सामग्रीमा कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइका सामग्रीलगायत छन्। यो नेपालमा भारतले पठाएको चौथो चरणको सहायता हो।
बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुगेपछि यातायात पूर्वाधार पुनः सञ्चालनमा सहयोग पुर्याउन भारतले पुल निर्माणका सामग्रीसमेत पठाएको छ।
जयशंकरका अनुसार २३० फिट लामो एक लेनको मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक सामग्री बोकेका १६ वटा ट्रक नेपाल पठाइसकिएको छ। थप सातवटा बेली ब्रिज निर्माणका उपकरण र तिनको जडानका लागि आवश्यक प्राविधिक टोली पनि चाँडै नेपाल आइपुग्ने उनले बताएका छन्।
भारतका अनुसार हालसम्म हवाई माध्यमबाट कुल ६८.५ टन राहत सामग्री काठमाडौं ल्याइसकिएको छ। यसअघि नेपाल पठाइएका सामग्रीमा अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर, तयारी खाना, पानी शुद्धीकरण गर्ने ट्याब्लेट तथा विपद् व्यवस्थापनमा प्रयोग हुने विभिन्न प्राविधिक उपकरणहरू रहेका छन्।
चीनद्वारा नेपाललाई ५० टन राहत सामग्री, उद्धार विशेषज्ञ टोली पनि आइपुग्यो
यसैबीच चीनले पनि नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा सहयोग पुर्याउन ५० टन आपत्कालीन राहत सामग्री नेपाल पठाएको छ।
आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० विमान राहत सामग्रीसहित काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि नेपाल आएका छन्। उनीहरू आवश्यक उद्धार उपकरणसहित नेपाल पुगेका हुन्।
विमानस्थलमा आयोजित कार्यक्रममा चीनले ल्याएको राहत सामग्री नेपाललाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी थिए। सोही क्रममा चिनियाँ उद्धार विशेषज्ञ टोलीको स्वागतसमेत गरिएको थियो।
चिनियाँ पक्षका अनुसार राहत सामग्री बोकेका दुवै विमान चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए। करिब तीन घण्टाको उडानपछि ती विमान काठमाडौं आइपुगेका हुन्।
दुवै विमानमा गरी करिब ५० टन तौलका १३ हजार २०० थान आपत्कालीन सामग्री नेपाल ल्याइएको छ। ती सामग्रीमा बाढी तथा पहिरो प्रभावितका लागि आवश्यक त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड तथा बिस्कुट र प्राथमिक उपचारका किटलगायत सामग्री छन्।
नेपाल–चीन सीमा क्षेत्रसहित देशका विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्याएपछि उद्धार तथा राहत कार्यमा सहयोग गर्ने उद्देश्यले चीनले सामग्री र विशेषज्ञ टोली नेपाल पठाएको जनाएको छ।
विपद्को यस घडीमा छिमेकी मुलुकहरूले प्रदान गरेको साथ र सहयोग सराहनीय छ।













