१४ भदौ २०८३, आइतबार

माथिल्लो त्रिशूली ‘३ ए’ आयोजनामा फसेकाको उद्धार कार्य जारी



काठमाडौं । बाढी र पहिरोका कारण माथिल्लो त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजनामा प्रभावित तथा फसेका व्यक्तिको उद्धारका लागि सरकारी टोलीले रातभर काम जारी राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान करिब ४ बजेतिर आयोजनाको क्षेत्रमा आएको थप बाढीका कारण त्रिशूली नदीको बहाव निकै बढेको छ। नदीको पानीको सतह करिब ५ देखि १० मिटरसम्म उक्लिएपछि आसपासका नदी किनारमा कटानसमेत तीव्र भएको बताइएको छ।

अवस्था जोखिमपूर्ण बनेपछि आयोजनामा थप क्षति हुन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ। बाढी र पहिरोका कारण आयोजनाको क्षेत्रमा जम्मा भएको माटो, ढुंगा र लेदो हटाउन डोजरसहितका भारी उपकरण परिचालन गर्ने तयारी भइरहेको छ। साथै, पहिरोमा पुरिएका टनेल पोर्टल र पावर हाउस क्षेत्रमा रहेका महत्वपूर्ण उपकरणहरू सुरक्षित रूपमा बाहिर निकाल्ने प्रक्रिया पनि अघि बढाइएको छ।

आयोजनाको टनेल पोर्टल तथा पावर हाउसको निगरानी र नियन्त्रणमा प्रयोग हुने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर तथा सेटअप बक्स माटो र लेदोमा पुरिएका छन्। ती उपकरण निकाल्न हेलिकप्टरमार्फत विशेष सुरक्षा तथा प्राविधिक टोली परिचालन गर्ने तयारी गरिएको छ।

सडक सम्पर्क अवरुद्ध भएकाले प्रभावित भवनसम्म स्थलमार्गबाट पुग्न कठिन भएपछि हेलिकप्टरबाट उद्धार तथा प्राविधिक टोली घटनास्थलमा पुर्‍याउने योजना बनाइएको छ।

त्रिशूली नदीमा बाढीको जोखिम अझै कायम रहेकाले आयोजनामा उद्धार तथा पुनःस्थापनाका साथै महत्वपूर्ण संरचना र उपकरण जोगाउने कामलाई सरकारले निरन्तरता दिएको जनाएको छ।