बाढीले बगाएको बैंकको सेफ फोडेर रकम निकालेको आरोपमा २९ जना पक्राउ
काठमाडौं । बाढीले बगाएर ल्याएको बैंकको सेफ तोडेर त्यसभित्र रहेको रकम निकालेको आरोपमा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई करिब ९२ लाख रुपैयाँसहित पक्राउ गरेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बाढीका कारण बैंकको सेफ बगेर आएपछि केही व्यक्तिले त्यसलाई फुटाएर भित्र रहेको रकम निकालेका थिए। घटनामा संलग्न भएको आशंकामा पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले घटनाबारे थप विवरण सार्वजनिक गर्न विज्ञप्ति जारी गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पनि बाढीले बगाएर ल्याएको बैंकको सेफ र त्यसबाट रकम निकालिएको विषय सार्वजनिक रूपमा उठाएकी थिइन्। त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको हो।
पक्राउ परेका सबैमाथि घटनाको वास्तविकता र उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













