प्रकाेपमा सेनाकाे साैर्य, यसरी सम्भव भयाे हजाराैँकाे उद्धार
भोटेकोशी बाढीको वित्यासपछि उद्धारमा अहोरात्र खटिएको नेपाली सेनाले स्वदेशी तथा विदेशीसहित दुई हजार छ सय पचासभन्दा बढीको जीवनरक्षा गरेको छ भने थुप्रिएको सुरुङको मुख खोल्न विशेष प्रविधिसहितको खोजी अभियान तीव्र पारेको छ।
काठमाडाैँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि संकटमा परेका नागरिकहरूको जीवनरक्षाका लागि नेपाली सेना अग्रपंक्तिमा उभिएको छ।
जंगी अड्डाका अनुसार विपद्को यो कठिन घडीमा सेनाले स्थल र आकाश दुवै मार्गबाट गरेको अथक प्रयासका कारण हालसम्म २,६५० जनाको सकुशल उद्धार भइसकेको छ। बाढीले तहसनहस बनाएका टिमुरे, स्याफ्रुबेशी र मैलुङ क्षेत्रमा सेनाको उपस्थिति नागरिकका लागि भरोसाको केन्द्र बनेको छ।
प्रतिकुल मौसम र जोखिमपूर्ण भूगोललाई चिर्दै सैनिक जवानहरू दिनरात उद्धारकार्यमा तल्लीन रहेका छन्।
विपद्को सूचना पाएसँगै परिचालित सैनिक टोलीले विभिन्न माध्यमबाट प्रभावित क्षेत्रमा फंसेकाहरूको उद्धारलाई तीव्रता दिएको छ। पछिल्लो चरणमा मात्रै हेलिकप्टरमार्फत गरिएको उद्धारमा चिनियाँ र भारतीय नागरिकहरूलाई समेत सुरक्षित रूपमा बाहिर निकालिएको छ।
तथ्याङ्कअनुसार सेनाले स्थलमार्गबाट २०० र हवाई साधनमार्फत २,४५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा पुर्याएको छ। उद्धार हुनेहरूमा ठूलो संख्या नेपालीहरूको रहेको छ भने विभिन्न देशका नागरिकहरूले पनि नयाँ जीवन पाएका छन्। जसमा १२१ भारतीय, ७२ चिनियाँ, १५ कोरियन, ४ जर्मन, २ अमेरिकी, ३ इटालियन र १ ओमान नागरिक रहेका छन्।
यो विपद् व्यवस्थापनमा सेनाका ८,३०० सयभन्दा बढी जनशक्ति मैदानमा खटिएका छन्, जसले नेपालको सुरक्षा संगठन जुनसुकै संकटसँग जुध्न सक्षम रहेको प्रमाणित गरेको छ।
त्रिशूली–३ ए सुरुङको मुख खोल्न कठिन संघर्ष
मानवीय उद्धारसँगै भौतिक संरचनाको पुनःस्थापना र हराएका संरचनाको खोजीमा पनि सेनाले आफ्नो प्राविधिक क्षमता प्रदर्शन गरिरहेको छ। बाढीका कारण थुनिएको त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउन र अवरोध हटाउन सेनाले विशेष अभियान चलाएको छ।
गत भदौ १२ गतेदेखि नै घटनास्थलमा अस्थायी क्याम्प स्थापना गरी खटिएको संयुक्त टोलीले यो चुनौतीपूर्ण कामलाई अगाडि बढाएको हाे।
विशेषज्ञसहितको ९३ जनाको दक्ष टोली अत्याधुनिक उपकरणहरूको प्रयोग गर्दै सुरुङ खोल्न जुटिरहेको छ। ड्रिलिङ मेसिन, स्काभेटर र हाइड्रोलिक कटरजस्ता भारी उपकरणहरूको मद्दतले मोटो गेगर तथा लेदो हटाउने काम भइरहेको छ।
उक्त सुरूङभित्र ६०० जनाभन्दा बढी मानिसहरू थुनिएकाे हुनसक्ने अड्कल गरिएकाे भए पनि उनीहरूकाे अवस्था पत्ता लगाउन कठीन परेकाे छ । स्काभेटरजस्ता माटाे पन्छाउने उपकरणहरू त्यहाँ पुर्याउन सक्ने अवस्था नै नभएका कारण सैनिकहरूले हातैले माटाे, ग्रगान र ढुंगा पन्छाएर सुरूङकाे मुख खाेज्नु पर्ने अवस्था भएकाले यस काममा केही ढिलाइ भएकाे हाे । अब भने दुइटा स्काभेटर लगेर खन्ने काम सुरू भएकाे छ ।
नदीमा पानीको बहाव उच्च हुँदा केही समय खोज तथा उत्खनन कार्य प्रभावित भए पनि अहिले स्थिति अनुकूल बन्दै गएपछि काम पुनः सुचारु भएको छ। यस महत्वपूर्ण कार्यमा नेपाली सेनासँगै भारतीय र चिनियाँ प्राविधिक विशेषज्ञहरूको टोलीले पनि सहकार्य गरिरहेको छ, जसले विपद्को यो घडीमा अन्तर्राष्ट्रिय सहकार्यको बलियो सन्देश दिएको छ।













