बाढीपीडितलाई १ हजार २५० थान ग्यास सिलिन्डर उपलब्ध गराउने एलपी ग्यास उद्योग संघको प्रतिवद्धता
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जिल्लाका नागरिकलाई राहतस्वरूप १ हजार २५० थान एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।
संघका अध्यक्ष दिवान बहादुर चन्दले संघको तर्फबाट १ हजार २५० थान एलपी ग्यास सिलिन्डर नेपाल आयल निगममार्फत लक्षित वर्गमा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन्।
संघले बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट समेत गरेको छ ।
ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले घाइतेहरूको शीघ्र उपचार तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा जुट्न सबैमा अपिल गरेको छ।
संघले विपद्बाट उत्पन्न परिस्थितिमा विभिन्न निकाय मानवीय सेवामा जुटिरहेको भन्दै प्रभावित नागरिकको तत्काल आवश्यकता र कठिनाइलाई मध्यनजर गर्दै सहयोग गर्ने जनाएको हो।













