१४ भदौ २०८३, आइतबार

रसुवा–नुवाकोटमा बाढीको जोखिम टरिनसकेकाले उद्धारमा उच्च सतर्कता अपनाउन सुझाव



काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले रसुवा, नुवाकोटलगायत विभिन्न क्षेत्रमा देखिएको मौसमको अवस्था र बाढीको सम्भावित जोखिमबारे सम्बन्धित विज्ञ तथा अधिकारीसँग छलफल गरेका छन्।

जल तथा मौसम विज्ञान विभाग र जल विज्ञान तथा स्रोत अनुसन्धान केन्द्रका प्रतिनिधिसँग भएको छलफलमा मन्त्री श्रेष्ठले विशेषगरी रसुवा र नुवाकोटको पछिल्लो मौसम, सम्भावित वर्षा, नदी तथा खोलाको पानीको सतह र बाढीको पूर्वानुमानबारे जानकारी लिएका थिए।

जोखिममा रहेका क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यलाई मौसमअनुकूल र सुरक्षित बनाउने विषयमा समेत छलफल भएको थियो। मौसमको अवस्थाका कारण उद्धार टोली तथा प्रभावित नागरिकको सुरक्षामा थप चुनौती आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउने विषयमा मन्त्री श्रेष्ठले चासो राखेका थिए।

सम्बन्धित अधिकारीहरूले हाल तत्काल ठूलो जोखिम देखिनसकेको भए पनि परिस्थितिलाई पूर्ण रूपमा सामान्य मान्न नसकिने बताएका छन्। उनीहरूले उद्धार तथा राहतका क्रममा उच्च सतर्कता अपनाउन र मौसममा आउन सक्ने अचानक परिवर्तनलाई निरन्तर निगरानी गर्न सुझाव दिएका छन्।

अधिकारीहरूका अनुसार मौसम, वर्षा र नदीको जलस्तरसम्बन्धी तथ्यांकलाई निरन्तर विश्लेषण गरिँदै आएको छ। सम्भावित जोखिम पहिचान गरी तल्लो तटीय क्षेत्र तथा संवेदनशील स्थानमा रहेका नागरिकलाई समयमै पूर्वसूचना उपलब्ध गराउने काम पनि भइरहेको छ।

मन्त्री श्रेष्ठले पूर्वसूचना प्रणालीलाई उद्धार तथा विपद् व्यवस्थापनसँग प्रभावकारी रूपमा जोड्नुपर्नेमा जोड दिएका छन्। सम्भावित क्षति कम गर्न सम्बन्धित सबै सरकारी निकायबीच निरन्तर सूचना आदानप्रदान र समन्वय आवश्यक रहेको उनको भनाइ थियो।