एनडीपीको साधारणसभा सम्पन्न, अढाई प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित
मुलुकको आर्थिक रूपान्तरणका लागि पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्ने अङ्गीकारसहित नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न भएको छ।
काठमाडौँ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)ले आफ्नो लगानीको दायरालाई फराकिलो बनाउँदै दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न बैठकले आर्थिक वर्ष २०८२/०८३ को समग्र वित्तीय विवरणसँगै लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्तावलाई औपचारिक मान्यता दिएको छ।
साधारणसभाले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २ दशमलव ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ। यसका साथै कर प्रयोजनका लागि १५ लाख ५७ हजार ३४३ रुपैयाँ नगद लाभांश उपलब्ध गराउने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित भएको छ।
सभाले कम्पनीको प्रबन्धपत्रमा समसामयिक संशोधन गर्दै आगामी दिनमा वित्तीय उपकरणहरू जारी गर्न सक्ने बाटो खुलाएको छ। यसअनुसार कम्पनीले अब परिवर्तनीय डिबेञ्चर, प्राथमिकता प्राप्त सेयर तथा विदेशी लगानीकर्तालाई लक्षित गरेर विभिन्न वित्तीय साधनहरू बजारमा ल्याउन पाउनेछ।
त्यसैगरी, ग्रिन क्लाइमेट फन्ड र ब्लेन्डेड फाइनान्स जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय कोषहरूबाट समेत वित्तीय सहयोग भित्र्याउने उद्देश्यलाई सभाले अनुमोदन गरेको छ। सर्वसाधारणका लागि जारी पुँजीको २० प्रतिशत सेयर छुट्याउने प्रस्ताव पनि पारित भएको छ। भविष्यमा व्यावसायिक रणनीतिकै रूपमा अन्य उपयुक्त कम्पनीहरूलाई गाभ्ने वा प्राप्ति गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गरिएको छ।
७७ वटै जिल्लामा सेयरधनीको पहुँच
समीक्षा वर्षमा कम्पनीले करपछिको खुद मुनाफा ७ करोड ३३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ। यससँगै कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब १८ करोड ३५ लाख रुपैयाँको बलियो आधारमा उभिएको छ।
भौगोलिक रूपमा कम्पनीले अनपेक्षित सफलता हासिल गरेको छ, जसअनुसार हाल एनडीपीका सेयरधनीहरू देशका सबै ७७ वटै जिल्लामा फैलिएका छन्। छरिएर रहेको सानोतिनो पुँजीलाई एकत्रित गरेर देशको दीर्घकालीन आर्थिक हितमा लगाउन यो भौगोलिक विस्तार कोसेढुङ्गा साबित हुने विश्वास लिइएको छ।
साधारणसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ढकालले मुलुकभित्र वैकल्पिक वित्तीय वृत्तको आवश्यकता महसुस गरेर नै यो संस्था स्थापना गरिएको स्पष्ट पारे। स्वदेशी पुँजीलाई एकीकृत गरी ठूला र रणनीतिक महत्त्वका पूर्वाधार योजनाहरूमा लगानी परिचालन गर्ने अठोट व्यक्त गरे। वैदेशिक रोजगारीका कारण विदेशिन बाध्य युवाहरूलाई स्वदेशमै रोजगारी र लगानीको सुरक्षित अवसर सिर्जना गर्न कम्पनीले मुख्य भूमिका खेल्ने उनले बताए।
देशविदेशमा छरिएर रहेको पुँजीलाई सही ठाउँमा उपयोग गर्न सके मात्रै राष्ट्रिय अर्थतन्त्रको कायापलट हुने उनको ठहर छ। आगामी दिनमा जलविद्युत्, केबलकार र पर्यटन पूर्वाधार तथा सूचना प्रविधिको क्षेत्रमा लगानीको दायरा अझै विस्तार गर्दै लैजाने प्रतिबद्धता सभाबाट व्यक्त भएको छ।













