१५ भदौ २०८३, सोमबार

बाढीमा मृत्यु हुनेको संख्या ९०० नाघ्यो: ४,२४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको जीवितै उद्धार



काठमाडाैं । गत भदाै १० गते बुधबार नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेकाे संख्या ९०० नाघेकाे छ।

सोमबार बिहान ९ बजेसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ।

प्राधिकरणका अनुसार रसुवामा २४ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५५ जना, गोरखामा ६२ जना, नवलपरासी पूर्वमा २०७ जना, नवलपरासी पश्चिममा १५१ जना, तनहुँमा ३७ जना र चितवनमा २७२ जनाको शव फेला परेको छ।

यस्तै हालसम्म बाढीमा परी सम्पर्कविहीन हुनेको संख्या ४ हजार २४७ पुगेको छ। जसमा नेपाल प्रहरीका २५ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बलका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ३ जना, रसुवाबाट ८६५ जना, नुवाकोटका १५५८ जना सम्पर्कविहीन छन्।

त्यस्तै विभिन्न जलविद्युत आयोजनाबाट ९३३ जना, मकवानपुरका ६५ जना, विदेशी नागरिक ५९२ जना, विदेशीसँगै घुम्न गएका १२७ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ जना र क्वारेन्टाइन कार्यालयबाट ३ जना सम्पर्कविहीन छन्।

सरकारले हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिसकेकाे छ ।