नेपाल भित्रिँदै कियाको नयाँ विद्युतीय गाडी, यस्ताे छ मूल्य र फिचर्स!
काठमाडाैँ । नेपाली बजारमा अटोप्रेमीहरूको पर्खाइमा रहेको कियाको नयाँ विद्युतीय मोडल भित्रिने प्रक्रिया सुरु भएको छ। किया मोटर्सको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो आधुनिक एसयूभीलाई नेपाल भित्र्याउने तयारी तिब्र पारेको हो।
भारतीय उत्पादन केन्द्रबाट बजारमा आएको यो गाडीलाई नेपाली उपभोक्ता माझ ल्याउन कम्पनीले आन्तरिक गृहकार्य अन्तिम चरणमा पुर्याएको छ। विद्युतीय सवारी साधनको बढ्दो क्रेजलाई मध्यनजर गर्दै कम्पनीले यसको बजार प्रवेश अगावै मूल्यसमेत सार्वजनिक गरिसकेको छ।
सार्वजनिक गरिएको विवरण अनुसार भारतीय बजारमा किया क्लाभिस ईभीको अधिकतम खुद्रा मूल्य ५६ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ। भारतीय बजारमा यो गाडी ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर गरी दुई भिन्न ब्याट्री विकल्पमा उपलब्ध रहँदै आएको छ।
यी ब्याट्रीप्याकले क्रमशः ४०४ किलोमिटर र ४९० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने निर्माता कम्पनीको दाबी छ। यद्यपि, नेपाली बजारमा यी दुवै भेरिएन्ट आउँछन् वा कुन मात्र उपलब्ध हुन्छ भन्ने विषयमा आधिकारिक विक्रेताले स्पष्ट पारेको छैन।
आधुनिक प्रविधिले सुसज्जित यस गाडीमा फास्ट चार्जिङको सुविधा रहेको छ। यसको माध्यमबाट गाडीको ब्याट्रीलाई मात्र ३९ मिनेटमै १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। ६ देखि ७ जनासम्म सहजै यात्रा गर्न मिल्ने यो एसयूभीमा दुई प्रकारका मोटर विकल्पहरू राखिएका छन्।
यसको सानो मोटरले १३५ हर्ष पावर र ठूलो मोटरले १७१ हर्ष पावरसम्मको शक्ति उत्पन्न गर्न सक्षम रहेको छ।
गाडीको बाहिरी बनावटलाई पारखीहरूको मन लोभ्याउने गरी आकर्षक ढङ्गले तयार पारिएको छ। यसको बाहिरी लुक्स पेट्रोल संस्करणसँग मिल्दोजुल्दो देखिए पनि विद्युतीय स्वरूपलाई विशेष पहिचान दिन छुट्टै आकर्षक डिजाइन दिइएको छ। गाडीमा नयाँ प्रविधिको एरोडाइनामिक एलोय ह्वील, अत्याधुनिक एलइडी डीआरएल र पछाडिको भागमा आकर्षक कनेक्टेड एलइडी टेल लाइट जडान गरिएको छ, जसले यसको सौन्दर्यलाई थप निखारेको छ।










