१५ भदौ २०८३, सोमबार

रसुवाका बाढी-पीडित लक्षित नबिल बैंककाे रक्तदान



काठमाडाैं । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार र उपचारको आवश्यकता बढिरहेका बेला नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको छ।

गत भदौ १० गते आएको बाढी र पहिरोबाट प्रभावित नागरिकको उपचारमा रगतको अभाव हुन नदिन बैंकले सोमबार वृहत् रक्तदान कार्यक्रम सञ्चालन गरेको हो।

दरबारमार्गस्थित तीनधारामा रहेको बैंकको प्रधान कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय लायन्स रक्त अनुसन्धान केन्द्रले प्राविधिक सहयोग गरेको थियो।

बाढी र पहिरोका कारण घाइतेहरूको उपचारमा अस्पतालहरूमा रगतको माग बढ्न सक्ने भएकाले सम्भावित अभावलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।

बिहान ८ बजेदेखि सुरु भएको रक्तदानमा बैंकका कर्मचारी मात्र नभएर कारोबारका लागि आएका ग्राहकहरूले पनि स्वतःस्फूर्त रूपमा रक्तदान गरेका छन्।सोमबार मध्यान्हसम्म १२६ जनाले रक्तदान गरिसकेका छन् । कार्यक्रम अवधिभर करिब २०० जनाले रक्तदान गर्ने अनुमान गरिएको छ।

रक्तदान कार्यक्रम काठमाडौंस्थित प्रधान कार्यालयमा मात्रै आयोजना गरिएको भए पनि नबिल बैंकले उपत्यकाबाहिर रहेका आफ्ना कर्मचारीलाई पनि नजिकैका रक्तदान केन्द्रमा पुगेर रक्तदान गर्न आह्वान गरेको छ।

बैंकका अनुसार देशका विभिन्न स्थानमा रहेका कर्मचारीले पनि आ-आफ्नो क्षेत्रबाट रक्तदान गरिरहेकाे पनि बैंकले जनाएकाे छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘सधैँ सँगै अघि’ भन्ने मूल मर्मका साथ सञ्चालन गरिएको यस कार्यक्रमले सामाजिक दायित्वप्रति थप जिम्मेवार बन्न र सेवामा समर्पित हुन प्रेरणा मिलेको बैंकको भनाइ छ।भविष्यमा आवश्यकता परेमा पुनः यस्तो कार्यक्रम आयोजना गरिने बैंकले जनाएको छ।

देश नै दुःखद र विषम परिस्थितिबाट गुज्रिरहेको यस घडीमा सबै नेपालीहरूलाई धैर्य धारण गर्न र आपसमा सहयोगको हात बढाउन बैंकले अपिल गरेको छ।